काठमाडौं- बिहीबार एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जनता समाजवादी पार्टी (जसपा) का कारण नयाँ सरकार बन्ने सम्भावना टर्दै गएको खुलासा गरे ।
जसपाका प्रथम अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो पक्षधर सांसदहरूले ओलीलाई नै साथ दिने पक्कापक्की छ । करीब १६ सांसद रहेको यो पक्षले ओलीकै नेतृत्वलाई निरन्तरता दिन चाहे ओली प्रधानमन्त्री नै रहनेछन् ।
यद्यपी कर्णाली प्रदेशमा फ्लोर क्रस गरेर माओवादी केन्द्रका मुख्यमन्त्रीलाई विश्वासको मत दिएको एमालेको माधवकुमार नेपाल पक्षले केन्द्रमा फ्लोर क्रस गर्न सक्ने सम्भावना भने जिवितै छ । करीब ३५ सांसदको साथ रहेका मानिएका नेपाल-खनाल पक्षले ओलीको बहिर्गमनलाई आफ्नो आन्तरिक मुद्दा बनाउने गरेको छ ।
जसपामा बाबुराम भट्टराई र उपेन्द्र यादव पक्षधर सांसदहरूको प्रतिबद्धता र एमालेभित्रैको सम्भावित आन्तरिक विद्रोहका कारण ओलीले नै निरन्तरता पाउन कठीन छ । तर प्रचण्डले अन्तर्वार्तामा किन नयाँ सरकार बन्ने सम्भावना टर्दै गएको बताए त ?
बेहुली भाग्लिन् भन्ने पीर ?
हामीले प्रचण्डनिकट एक स्थायी कमिटी सदस्यलाई तपाईंहरूले हार खानुभएको हो ? भनेर सोधेका थियौं । जवाफमा उनले भने, ‘समीकरण हाम्रै पक्षमा छ, हामीले नयाँ सरकार बनाउन हार मानेका होइनौं । तर बिहेको सबै तयारी पूरा भएपछि यज्ञमा बस्ने बेलामा बेहुला या बेहुली भाग्लान् भन्ने पीर हो ।’
उनले गण्डकी प्रदेशमा भएको घटनालाई उदाहरणका रूपमा पेश गरे । ‘देख्नुभएन, अन्तिम अवस्थामा मान्छेहरू कसरी आइसीयुमा पुग्ने रैछन् ? केपी ओलीले सत्ताको दुरुपयोग गरेर सांसदहरूलाई बन्धक बनाउने, किन्न खोज्ने जस्ता कामहरू गरिरहेकै छन् । अहिले हामीलाई सबैभन्दा बढी पीर परेको त्यसैमा हो ।’
गण्डकी र लुम्बिनीको गेम दोहोरिने आशंका !
बिहीबार मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङका विरुद्ध परेको अविश्वासको प्रस्तावमा मतदान हुँदा जनमोर्चाका सांसद खेमबिक्रम शाही अनुपस्थित भए । उनी चरक अस्पतालको आइसीयुमा त भेटिए, तर केही अगाडी नेगेटिभ आएको उनको पीसीआर टेस्ट चमत्कारिक ढंगबाट पोजिटिभ आयो ।
उनलाई भेट्न जान कसैलाई अनुमति दिइएको थिएन । यससँगै गण्डकीको प्रदेश सभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । मुख्यमन्त्री गुरुङले केही दिनका लागि भए पनि सत्ता लम्ब्याउने अवसर पाएका छन् ।
लुम्बिनीमा भयो त्यस्तै । अविश्वास प्रस्तावमा हस्ताक्षर गरेका ४ जना जसपाका सांसदमध्ये तीन जनाले तत्कालै मन्त्रीपदमा सपथ लिए । उनीहरूलाई प्रलोभन देखाइएकोमा कुनै शंका रहेन । यद्यपी केन्द्रीय कार्यकारिणीको बहुमतले ती चारै जनालाई सांसद पद नरहने गरी कारवाहीका लागि सिफारिस गरियो ।
प्रदेश सांसद विजय यादव, सन्तोष पाण्डे, सुमन रायमाझी र कल्पना पाण्डे सांसद नरहेको भन्दै संसद सचिवालयले सूचना निकालिसकेको छ ।
केन्द्रमा पनि गण्डकी र लुम्बिनीकै नियति दोहोरिन सक्ने शंकामा कांग्रेस र माओवादी केन्द्र रहेका छन् । जसपाको यादव-भट्टराई पक्ष र एमालेको नेपाल-खनाल पक्षले ओलीविरुद्ध मत हाल्ने प्रतिबद्धता जनाए पनि कांग्रेस सभापति शेरबहादुर देउवा विश्वस्त छैनन् ।
अलमलमा देउवा !
शुक्रबार देउवाले आफ्नो निवासमा केही पत्रकारलाई बोलाएर तत्कालीन परिस्थितिका बारेमा ब्रिफिङ गरे । उनले मूलतः कोरोना नियन्त्रण र रोकथामका बारे सरकारलाई ध्यानाकर्षण गराएको भएता पनि पत्रकारहरूले सोधिहाले, ‘नयाँ सरकार कहिले बन्छ ?’
जवाफमा देउवाले कुनै स्पष्ट उत्तर दिएनन् । ‘हाम्रो केन्द्रीय समितिले निर्णय गरेकै छ, सरकार बनाउन पहल गर्ने भनेर । अहिले संख्या नै पुग्दैन, म के गरूँ त ?’
त्यसपछि अर्का पत्रकारले सोधे- ‘अविश्वासको प्रस्ताव हाल्न संख्या नपुगेको हो ?’ देउवा कड्किए- ‘अविश्वासको प्रस्ताव केका लागि हाल्ने हो ? अहिले असफल भयो भने त अर्को पटक त्यही अविश्वासको प्रस्ताव पनि हाल्न पाइँदैन ।’
अविश्वास प्रस्ताव दर्ता र समर्थन फिर्ता सँगसँगै लिने रणनीति
केही दिनअघि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको स्थायी कमिटी बैठकमा प्रचण्डले सरकारलाई दिएको समर्थन फिर्ता लिनेबित्तिकै ओलीले विश्वासको मत लिन खोज्ने र त्यसमा विफल भए ओलीले पुनः संसद् विघटन गर्न सक्ने भन्दै भयमिश्रित ब्रिफिङ गरेका थिए ।
‘ओलीले यो संसदलाई देखिसहेका छैनन्,’ बैठकमा प्रचण्डले भनेका थिए, ‘उनको ध्याउन्न भनेको संसद सिध्याउने र मध्यावधि निर्वाचनमा जाने हो। उनले किन आफ्नै खुट्टामा बन्चरो हान्न खोजिरहेका छन्, उनैले जानून् । तर यो संसदलाई बित्थामा मर्न दिनु हुँदैन । त्यसैले हामीले सुझबुझपूर्ण कदम चाल्नुपर्छ । अविश्वासको प्रस्ताव नराख्ने बेलासम्म सरकारबाट समर्थन फिर्ता लिने निर्णय गर्नुहुँदैन ।’
देउवाले नयाँ सरकारको नेतृत्व लिन तयार भएको प्रचण्डको बुझाइ रहेको छ । ‘तर जसपाको ढुलमुले प्रवृत्तिका कारण देउवाले सरकार बन्न सक्दैन कि भनेर प्रश्न गरेका छन्,’ प्रचण्डले स्थायी कमिटी बैठकमा भनेका थिए, ‘हामीले त्यसो भए पनि एमालेका साथीहरूले फ्लोर क्रस गर्ने सम्भावना रहेको छ । तपाईं अघि बढ्नुस भनेर उहाँहरूले भन्नुभएको छ ।’
पर्खाइ जसपा विभाजनको !
सत्ता गठबन्धनमा ढुलमुले चरित्र देखाइरहेको जसपा विभाजनको संघारमा उभिएको छ । लुम्बिनीका ४ प्रदेश सांसदहरूलाई कारवाही गर्ने बहुमत कार्यकारिणी सदस्यको निर्णयलाई चुनौती दिन अध्यक्ष महन्थ ठाकुर निर्वाचन आयोग पुगेका छन् ।
जसपा विभाजन भएको अवस्थामा ओलीतिर बहुमत नपुग्ने आंकलन कांग्रेस र माओवादीले गरेका छन् । अझ एमालेबाट नै केहीले फ्लोर क्रस गरेदेखि देउवाको नेतृत्वमा नयाँ सरकार बन्न कुनै आइतबार चाहिँदैन ।
आजभन्दा ठीक एक वर्षअघि ओलीले ल्याएको दल विभाजनसम्बन्धी अध्यादेशका कारण रातारात एकजुट भएको जसपा ओलीलाई साथ दिने कि नदिने भन्ने मुद्दालाई लिएर विभाजनको संघारमा पुगेको हो ।
प्रतिनिधिसभामा कांग्रेसका ६३ र माओवादी केन्द्रका ४८ सांसद छन् । तत्काल कायम रहेको सदस्य संख्याको बहुमतका लागि यतिबेला संसदका १३५ जना सांसद आवश्यक हुन्छन् ।
कांग्रेस र माओवादीको जम्मा संख्या १११ मा जसपाको ३२ सांसद थपिने हो भने सजिलै ओलीविरुद्धको अविश्वास प्रस्ताव पारित हुन सक्छ । तर महन्थ ठाकुरका पक्षमा रहेका १४ सांसदहरू ओलीकै निरन्तरता चाहेका छन् ।
अविश्वासको प्रस्तावको पक्षमा ६ जना एमालेकै सांसदहरूले विद्रोह गर्ने हो भने बल्ल देउवाको नेतृत्वमा नयाँ सरकार बन्न संभव देखिन्छ । यद्यपि पिक्चर अझै क्लियर देखिएको छैन ।