काठमाडौं- काठमाडौं उपत्यका खानेपानी लिमिटेडले चुहावट भएको पाइप बनाउने क्रममा समन्वय नगर्दा गोकर्णेश्वर नगर क्षेत्रमा बिहीबार बिहानदेखि नेपाल टेलिकमको ल्याण्डलाइन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
नगरपालिकाको वडा नं. ४ स्थित गोकर्णेश्वर महादेव मन्दिरअघि चुहावट भएको पाइप बिहीबार बिहान बनाउने क्रममा टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको हो ।
खानेपानीले पाइप मर्मत गर्ने क्रममा खाल्डो खनेर पाइप मर्मत गर्दा समन्वय नगरेकाले टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध भएको टेलिकम जोरपाटी शाखाका कार्यालय प्रमुख खगेन्द्र कटुवालले जानकारी दिए ।
नयाँ भेरियन्टसहितको कोरोना संक्रमण दर उच्च भएर निषेधाज्ञा जारी भएकै दिन टेलिफोन र इन्टरनेट सेवा अवरुद्ध हुँदा अनलाइनबाट अध्ययन गरिरहेका हजारौँ विद्यार्थी एवं घरबाटै काम गरिरहेका मानिस प्रभावित भएका छन् ।
वडा नं. १, २, ३ र ४ का सबै टेलिफोन तथा एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएको हो । करिब एक हजार ५०० टेलिफोन र एक हजार १०० को संख्यामा एडीएसएल इन्टरनेट सेवा अवरुद्ध भएको छ ।
टेलिकमको टेलिफोन र इन्टरनेट सेवा लिइरहेका स्थानीयवासी रामचन्द्र भण्डारी सरकारी कम्पनी डुबाउने उद्देश्यले महिनामा दुईदेखि तीन पटकसम्म सेवा अवरुद्ध हुने गरेको बताउँछन् ।
निजी इन्टरनेट सेवा प्रदायकलाई पोस्न सरकारी कम्पनीको सेवा अवरुद्ध गराउन मिलेमतो हुने गरेको उनको आरोप छ । निजी कम्पनीका इन्टरनेट सेवा प्रदायकले ग्राहकलाई दैनिक तीन पटकसम्म फोन गरी आफूतिर तान्ने प्रयास गर्ने गरेका छन् ।
समन्वयमा काम गरी ग्राहकलाई दुःख नदिन पटक-पटक आग्रह गर्दा पनि कार्यान्वयन नभएको वडा नं. ४ का अध्यक्ष श्रीकुमार श्रेष्ठ बताउँछन् ।
समन्वयमा काम गर्न भनी लिमिटेड महाङ्कालचौर शाखाका कार्यालय प्रमुखले फोन नउठाउने गरेको उनको गुनासो छ । बिहीबार बिहानदेखि अवरुद्ध भएको सेवा अझै सुरु हुन सकेको छैन ।
लिमिटेड महाङ्कालचौर शाखाका प्रमुख उमेश मरहट्ठा टेलिकमले तार मर्मत गर्न सडक खन्ने क्रममा खानेपानीको पाइप पनि बिग्रने गरेको आरोप लगाउँछन् ।
सरकारी कार्यालयले एकार्कालाई आरोप प्रत्यारोप गरी सेवा अवरुद्ध गर्ने गर्दा हजारौँ उपभोक्ता भने प्रभावित हुने गरेका छन् ।
निषेधाज्ञाको समयमा विद्यार्थी र कामकाजीलाई प्रभावित पार्ने गरी सेवा अवरुद्ध
गरेकामा सेवाग्राही रुष्ट बनेका छन् ।