काठमाडौं- नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शुक्रबार अपरान्ह पत्रकारसम्मेलनमार्फत ओली सरकारलाई ३ गम्भीर आरोप लगाएका छन् ।
सरकारको नालायकीका कारण कोरोना भाइरस संक्रमणले मुलुकलाई गाँजेको देउवाको ठहर छ ।
११ बुँदे प्रेसनोट प्रस्तुत गर्दै देउवाले सरकार र नेपाली जनतालाई केही सुझाव समेत दिएका छन् ।
आरोप नं १
कोभिड-१९ (कोरोना भाइरस) महामारीको दोस्रो लहर द्रुत गतिमा आउनमा सरकारको चरम लापरबाही, असंवेदनशील र अकर्मण्यता जिम्मेवार छ ।
अधुरा कामलाई नै पूरा भएको भन्दै उद्घाटन, भिडभाड र तडक-भडकमा मग्न ओली सरकारले संक्रमण रोक्ने कुनै ठोस काम नगरेकोले फेरि लकडाउन गर्ने स्थितिमा पुगेको छ ।
आरोप नं २
१५ दिने लकडाउन लगाउने निर्णय गरेपछि कोभिड-१९ परीक्षण नगरी उपत्यका छाड्ने समय दिएर लाखौं मानिसहरु लकडाउन नभएको, कम संक्रमित जिल्लाहरुमा पुगेका छन् ।
सरकारको यो निर्णयले संक्रमण कम भएका ठाउँँहरुमा समेत ब्यापक संक्रमण बढ्ने खतरा बढेको छ ।
आरोप नं ३
पूर्वाग्रही ढंगले लामो समयदेखि प्राविधिक स्वास्थ्य सचिव रिक्त राख्ने सरकारको गैर -जिम्मेवारपूर्ण रवैयाको भत्सना गर्दछौं ।
सुझाव
-संक्रमितको उपचारका लागि अक्सिजन र भेन्टिलेटरको आपूर्ति सुनिश्चित गरियोस् ।
-स्वास्थ्य सामग्रीको समुचित व्यवस्था गरियोस् ।
-पीसीआर परीक्षणलाई व्यापक बनाइयोस् ।
-सीमामा होल्डिङ सेन्टरको व्यवस्था गरियोस् । इत्यादी ।
यसका साथै आम जनताले कोभिड-१९ वाट जोगिन अनुशासनको आवश्यक पालना गर्न पनि कांग्रेस सभापति देउवाले अनुरोध गरेका छन् ।