काठमाडौं- नेपाल कम्युनिस्ट पार्टी एमालेले लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा पुनः शंकर पोखरेललाई नै अघि सारेको छ ।
प्रदेश सरकार गठनका लागि एमाले संसदीय दलको आज बुटवलमा बसेको बैठकले मुख्यमन्त्रीमा पार्टी स्थायी कमिटीका सदस्य पोखरेललाई अघि सार्ने निर्णय भएको सत्तापक्षका प्रमुख सचेतक भूमिश्वर ढकालले जानकारी दिए ।
उनले एमालेको एकल बहुमतको सरकार गठनका लागि दाबी पेश गरिने जानकारी दिँदै संविधानको धारा १६८ को उपधारा १ बमोजिम सरकार गठन हुने बताए ।
मुख्यमन्त्री पोखरेलले राजीनामा दिएपछि रिक्त रहेको मुख्यमन्त्रीमा आज नै पोखरेलले शपथ लिनेछन् । ‘मुख्यमन्त्रीले शपथ लिनुहुनेछ, अन्य मन्त्रीको विषयमा सल्लाह हुँदैछ’, प्रमुख सचेतक ढकालले भने
लुम्बिनीमा एमालेको पक्षमा ४१, कांग्रेसका १९, माओवादीका १७, जसपाका दुई र जनामोर्चा नेपालको एक सिट छ । अहिले प्रदेशसभामा कूल ८१ सदस्य छन् ।