विपक्षी दलहरुले पठाए प्रदेश प्रमुखलाई पत्र, मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति रोक्न आग्रह-Sutra News

विपक्षी दलहरुले पठाए प्रदेश प्रमुखलाई पत्र, मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति रोक्न आग्रह

आइतबार, १९ बैशाख २०७८

आइतबार, १९ बैशाख २०७८

काठमाडौं- लुम्बिनी प्रदेशसभाका विपक्षी दलहरुले मुख्यमन्त्री शंकर पोखरेलले बहुमत गुमाइसकेकाले पुनः मुख्यमन्त्री नियुक्त नगर्नका लागि प्रदेश प्रमुखलाई पत्र पठाएका छन् । तत्कालीन नेकपाबाट प्रदेशसभा सदस्यमा निर्वाचित विमला खत्री वलीले आइतबार आफू माओवादी केन्द्रमा रहने अडान राखेपछि एमालेका स्थायी समिति सदस्यसमेत रहेका पोखरेलले मुख्यमन्त्रीबाट बहुमत गुमाएका हुन् ।



लुम्बिनीका सत्तारुढ एमालेका सांसदहरुले भने आफूसँग ४१ सांसदको बहुमत रहेको दाबी गर्दै एकल बहुमतको सरकारको मुख्यमन्त्रीमा पोखरेललाई नियुक्ति र सपथको तयारी गरेका छन् । मुख्यमन्त्रीको यस्तो तयारीपछि दाङ ३ (ख) बाट निर्वाचित वलीले प्रेस विज्ञप्ति जारी गर्दै आफूले माओवादी केन्द्र रोजेको स्पष्ट पारेकी थिइन् । वलीको निर्णयसँगै हाल ८१ सदस्यीय प्रदेशसभामा एमालेले एकल बहुमत गुमाएको हो ।

प्रदेशसभामा एमालेको सांसद संख्या ४० मात्र पुग्छ । संविधानको धारा १६८ ९१० अनुसार बहुमतको सरकार बनाउन ४१ सांसद आवश्यक पर्छ । एमालेको बहुमत गुमेको दाबीसहित विपक्षी दलहरु नेपाली कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टीका सांसदहरु मुख्यमन्त्रीमा पोखरेलको नियुक्ति र सपथ रोक्न लिखितपत्रकासाथ प्रदेश प्रमुख कार्यालय पुगेका हुन् ।

‘अब शंकर पोखरेलीजीसग होइन, बहुमत हामीसँग छ । अब हामीले सरकार बनाउँदैछौं भन्ने जानकारी प्रदेश प्रमुखलाई गरायौं,’ माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले भने । वलीले माओवादी केन्द्र रोजेपछि ८१ सदस्यीय प्रदेशसभामा विपक्षी गठबन्धनमा ४१ सांसद पुगेका छन् । जसमध्ये एक जना सभामुख छन् । प्रदेशसभामा नेपाली कांग्रेसका १९, माओवादी केन्द्र सभामुखसहित १८, जसपाका दुई र राष्ट्रिय जनमोर्चासँग एक सांसद छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट