सात हजार शैय्या थपिँदै, उपत्यकामा हजार शैय्या थपियो-Sutra News

सात हजार शैय्या थपिँदै, उपत्यकामा हजार शैय्या थपियो

आइतबार, १९ बैशाख २०७८

आइतबार, १९ बैशाख २०७८

काठमाडौं- सरकारले कोभिड-१९ को सङ्क्रमणको रोकथाम र नियन्त्रणका लागि करीब सात हजार शैय्या थप गर्ने भएको छ । तीमध्ये काठमाडौं उपत्यकाका छ अस्पतालमा आजैदेखि एक हजार शैय्या थप गरी सञ्चालनमा ल्याएको छ ।



स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सहप्रवक्ता डा.समीरकुमार अधिकारीले सरकारी र निजी अस्पतालमा थप सात हजार शैय्या थप्न थालिएको जानकारी दिए । शैय्या थप गरिएपछि सङ्क्रमितलाई उपचार गर्नका लागि सहज हुने छ । केही दिनयता लक्षणसहित सङ्क्रमित बढेपछि उपचारका लागि शैय्या पाउन समस्या भएको छ ।

उपत्यकाका सबै अस्पतालमा सङ्क्रमितको उपचारका लागि शैय्या भरिपछि थप व्यवस्थापन गर्न थालिएको हो । उनका अनुसार नेपाल प्रहरी अस्पतालमा ३५०, राष्ट्रिय आयुर्वेद अनुसन्धान तथा तालीम केन्द्र, पिपुल्स डेन्टल अस्पताल र सुरेश वाग्ले स्मृति क्यान्सर अस्पतालमा सय/सय तथा काठमाडौं मेडिकल कलेज र नेपाल मेडिकल कलेजमा १५०/१५० शय्या थप गरिने भएको छ ।

ती अस्पतालमा शैय्या थप गर्नका लागि मन्त्रालयले यसअघि नै सम्झौता गरिसकेको थियो । सहप्रवक्ता डा.अधिकारीले काठमाडौं मेडिकल कलेज, नेपाल मेडिकल कलेज र किष्ट मेडिकल कलेजमा ४०/४०० दरका एक हजार २०० शैय्या चाँडै बन्ने बताए ।

मनमोहन मेडिकल कलेजमा ३००, खरिपाटीमा २५०, पाटनस्थित मानसिक अस्पतालमा २५, पाटन अस्पतालमा ३५०, वीर अस्पताल र त्रिवि शिक्षण अस्पतालमा ५००-५०० र जनमैत्री अस्पतालमा १२० शैय्या बन्नेछन् । उनले सम्झौतानुसार निजी अस्पतालले दुई हजार र्शैय्या बनाउने छन् । अहिले मुलुकभर १८ हजार ९१७ शैय्या छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट