काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना महामारी नियन्त्रण, रोकथाम र उपचार गर्न सरकारले चालेका कदमलाई सहयोग गर्न अनुरोध गरेका छन् ।
सोमबार देशवासीको नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले जनस्वास्थ्यका मापदण्डलाई कडाइको साथ पालना गर्न अनुरोध गरेका हुन् । कोरोना संकटसँग जुध्ने अभियानमा नेपाललाई सहयोग गर्न प्रधानमन्त्रीले अन्तर्राष्ट्रिय समुदायसँग अपिल पनि गरे ।
अहिले लागु गरिएको निषेधाज्ञालाई कडाइ गरिने बताउँदै प्रधानमन्त्रीले निषेधाज्ञाको कारण कसैलाई भोकै हुन नदिनेमा सरकार सचेत रहेको समेत उनले बताए । सरकारले चीन र रुससँग खोप खरिद प्रक्रिया सुरु गरेको जानकारी दिँदै प्रधानमन्त्रीले कोभ्याक्स सुविधामार्फत खोप ल्याउन सरकार प्रयत्नशील रहेको पनि बताए ।