भारतमा कोरोना संक्रमित हुनेको संख्या दुई करोडभन्दा बढी-Sutra News

भारतमा कोरोना संक्रमित हुनेको संख्या दुई करोडभन्दा बढी

मंगलबार, २१ बैशाख २०७८

मंगलबार, २१ बैशाख २०७८

नयाँ दिल्ली- भारतमा कोरोना भाइरसबाट संक्रमित हुनेको कुल सङ्ख्या दुई करोडभन्दा माथि पुगेको छ । पछिल्लो २४ घण्टामा तीन लाख ५७ हजार भन्दा धेरै संक्रमित थपिएसँगै कुल सङ्ख्या दुई करोड नाघेको स्वास्थ्य मन्त्रालयले मंगलबार जनाएको छ ।



स्वास्थ्य मन्त्रालयले दिएको पछिल्लो तथ्याङ्कमा २४ घण्टामा तीन लाख ५७ हजार २२९ जना संक्रमित थपिएका छन् । सो अवधिमा तीन हजार ४४९ कोभिड-१९ संक्रमितको मृत्यु भएको छ । मंगलबार दिउँसोसम्ममा सक्रिय संक्रमितको सङ्ख्या ३४ लाख ४७ हजार १३३ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

भारतमा कुल संक्रमितको सङ्ख्या दुई करोड दुई लाख ८२ हजार ८३३ पुगेको छ भने अहिलेसम्म दुई लाख २२ हजार ४०८ व्यक्तिको संक्रमणका कारण स्वास्थ्यमा आएको जटिलताका कारण मृत्यु भएको छ ।

भारतमा हालसम्म १५ करोड ७१ लाख ९८ हजार २०७ जनाले कोरोना भाइरसविरुद्धको खोपको कम्तीमा एक मात्रा लगाएका छन् । नयाँ प्रकारको कोरोना भाइरसको संक्रमण तीव्र गतिमा फैलिँदा दोस्रो लहरको महामारीबाट भारतको स्वास्थ्य प्रणाली शिथिल बनेको छ ।

अस्पतालमा शैय्या तथा औषधि र अक्सिजनको अभाव हुँदा बचाउन सकिने संक्रमितहरुको पनि ज्यान गएको स्वास्थ्यकर्मीले बताएका छन् । १८ वर्षमाथिकालाई खोप लगाउन थालिएको भए पनि धेरै राज्यहरुले खोपको अभाव रहेको बताएका छन् । खोप उत्पादक सेरम इन्स्टिच्यूडका प्रमुखले यसअघि आज नै खोपको अभाव आउँदो जुलाईसम्मै कायम रहन सक्ने चेतावनी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट