आइपिएलका सबै खेल किन स्थगित गर्नुपर्यो ?-Sutra News

आइपिएलका सबै खेल किन स्थगित गर्नुपर्यो ?

मंगलबार, २१ बैशाख २०७८

मंगलबार, २१ बैशाख २०७८

नयाँ दिल्ली- कोरोना भाइरस (कोभिड-१९) को संक्रमण तीव्र गतिमा फैलिएसँगै भारतमा जारी इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अनिश्चितकालका लागि स्थगित गरिएको छ । भारतीय क्रिकेट बोर्ड (बिसिसिआई)ले एक विज्ञप्ति जारी गर्दै स्थानीय अधिकारीहरु र प्रतियोगिता आयोजकले आइपिएलको चालू सत्र तत्कालै अनिश्चितकालका लागि रोक्न आग्रह गरेपछि यस्तो निर्णय लिइएको जनाएको छ ।



बिसिसिआईको विज्ञप्तिमा भनिएको छ, ‘खेलाडी, सहयोगी कर्मचारी र अन्य सहभागीको स्वास्थ्य सुरक्षामाथि कुनै पनि किसिमको सम्झौता गर्न सकिन्न । कोभिडका कारण भारतमै अहिले निकै कठिन परिस्थिति उत्पन्न भएको छ । हामीले दुःखको अवस्थामा पनि सकारात्मक सन्देश दिन र खुशी साट्न प्रयत्न गरेका थियौं, तर अब आइपिएलमा सम्बद्ध सबै व्यक्ति आइपिएलका खेलबाट बिदा भएर आआफ्ना परिवार र घर जाँदै हुनुहुन्छ ।’

गत अप्रिल ९ बाट सुरु भएको यस वर्षको आइपिएलमा २९ वटा खेल भएका थिए । यी खेलहरु रङ्गशालामा दर्शक बिनै खेलाइएका थिए । भारतमा कोरोनाभाइरस महामारीको दोस्रो लहरले सिङ्गो स्वास्थ्य प्रणालीमाथि गम्भीर सङ्कट निम्त्याएको थियो । कोभिड-१९ बाट खेलाडी र खेल पदाधिकारी नै संक्रमित भएपछि सोमबारका लागि तय भएको कोलकाता नाइट राइडर्स र रोयल च्यालेन्जर्स बैंगलोरबीचको खेल रद्द भएको थियो । मङ्गलबार पनि चेन्नाई सुपर किङ्ग्सका दुई कर्मचारी र सनराइजर्स हैदराबादका एक खेलाडीमा कोभिड-१९ पोजेटिभ देखिएको थियो ।

भारतीय आइपिएलमा विश्वकै सर्वाधिक सफल क्रिकेट खेलाडीहरुले २०-२० क्रिकेट खेल्ने अवसर पाउने गर्दथे । गत वर्ष पनि कोभिड महामारीकै कारण यो प्रतियोगिता युनाइटेड अरब इमिरेट्समा खेलाइएको थियो । आइपिएलमा सहभागी खेलाडीहरुलाई स्वदेश फर्कन भने निकै कठिनाई हुने देखिएको छ खासगरी बेलायत र अस्ट्रेलियाले भारतबाट हुने हवाई उडानमा अस्थायी रुपमा रोक लगाएपछि समस्या उत्पन्न भएको छ ।

यसैबीच, क्रिकेट अस्ट्रेलियाले भारतमा रहेका स्टिभ स्मिथ र डेभिड वार्नर समेतका आफ्ना खेलाडीहरुको उद्धारका लागि विशेष विमानको व्यवस्था गर्न लागेको जनाएको छ । भारतमा कोरोना भाइरसबाट सङ्क्रमितको संख्या दुई करोड नाघेको छ । पछिल्ला तीन महिनामा कोभिड संक्रमितको संख्या झण्डै दोब्बरले वृद्धि भएको छ । भारतमा कोभिड संक्रमणबाट मृत्यु हुनेको संख्या पनि दुई लाख २० हजार नाघिसकेको छ ।

कोभिड संक्रमण तीव्र गतिमा फैलिएको जनाउँदै गत साता अस्ट्रेलियाली खेलाडीहरु एन्ड्रु टाई, एडम जाम्पा र केन रिचार्डसनले आइपिएल परित्याग गरी स्वदेश फर्किएका थिए । त्यस्तै, रविचन्द्रन अश्विन र लियाम लिभिङस्टोनले पनि बीचमै आइपिएल छाडेका थिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट