सिमकोट- हुम्लाको सिमकोट गाउँपालिका-२ ठेहेगाउँ निवासी एक बालिकाको शंकास्पद मृत्यु भएको छ । मंगलबार दिउँसो आफ्नै घरको गोठमा खेलिरहेकी आठ वर्षीया सञ्जिबा बोहराको मृत्यु भएको हो ।
आफ्ना साथीसँग खेलिरहेकी बालिका बोहरालाई एकछिनपछि मृतावस्थामा भेटिएको बताइएको छ । गोठमा राखिएको खच्चडलाई प्रयोग गर्ने रसिले बाँधिएको अवस्थामा बालिका बोहरा भेटिएकी थिइन् ।
स्थानीय पञ्चमुखी आधारभूत विद्यालयमा कक्षा २ मा अध्ययन गर्ने बोहराको मृत्यु शंकास्पद भएको बताइएको छ । केही स्थानीयवासीले आत्महत्या भनेर बाहिर प्रचार गरे पनि बालिकाले कसरी आत्महत्या गरिन् भन्दै प्रहरीले शंकास्पदरूपमा लिएको छ ।
घटनाको खबर पाउनेबित्तिकै दोजम प्रहरी चौकीबाट घटनास्थलमा पुगेको प्रहरी टोलीले बालिकाको मृत्यु रहस्यमय भएपछि थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी नायब उपरीक्षक हेरम्ब शर्माको टोली घटनास्थलमा पुगेको छ ।
मृतक बालिकाको शवलाई सदरमुकाम सिमकोटमा रहेको जिल्ला अस्पतालमा ल्याएर शव परीक्षण गरिने भएको छ ।