भारतमा कोरोना संक्रमण भयावह, एकैदिन चार हजारको मृत्यु-Sutra News

भारतमा कोरोना संक्रमण भयावह, एकैदिन चार हजारको मृत्यु

बुधबार, २२ बैशाख २०७८

बुधबार, २२ बैशाख २०७८

नयाँ दिल्ली- कोरोना भाइरस महामारीको दोस्रो लहरबाट नराम्रोसँग प्रभावित भारतमा पछिल्लो २४ घण्टामा तीन हजार ७८० जनाको मृत्यु भएको छ । बुधबार बिहान सार्वजनिक विवरणमा भारतमा कोभिड-१९ बाट कूल संक्रमितको संख्या दुई करोड सात लाख पुगेको उल्लेख छ ।



गत मे १ तारिखमा चार लाख कोभिड-१९ संक्रमित देखिए पनि पछिल्ला दुई दिनमा यो संख्यामा केही कमी आएको देखिएको केन्द्रीय परिवार कल्याण मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा कोभिड-१९ बाट संक्रमितको संख्या तीन लाख ५७ हजार रहेको भेटिएको छ ।

सरकारी विवरणमा कोभिड-१९ बाट हाल ३४ लाख ८७ हजार व्यक्ति संक्रमित अवस्थामा रहेका छन् । साथै पछिल्लो २४ घण्टामा तीन लाख ३८ हजार व्यक्ति संक्रमणमुक्त भएका छन् । योसहित भारतमा हालसम्म एक करोड ७० लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरस संक्रमणबाट हालसम्म भारतमा दुई लाख २६ हजार १८८ जनाको ज्यान गइसकेको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदकाअनुसार देशभर २९ करोड ४८ लाख ५२ हजार नमूना परीक्षण गरिएको छ । मङ्गलबार एकै दिन १५ लाख ४१ हजार नमूना परीक्षण गरिएको पनि परिषदले जनाएको छ ।

कोभिड-१९ संक्रमितको दैनिक मृत्यु बढेसँगै भारत सरकारले कोभिड-१९ को खोप अभियानलाई पनि तिब्र बनाएको छ । स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार हालसम्म १६ करोड पाँच लाख व्यक्तिलाई खोप दिइसकिएको छ ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट