आइसोलेशन शैय्या तयार पार्दै पालिकाहरू-Sutra News

आइसोलेशन शैय्या तयार पार्दै पालिकाहरू

बुधबार, २२ बैशाख २०७८

बुधबार, २२ बैशाख २०७८

स्याङ्जा- नयाँ भेरियन्ट कोभिड-१९ को सङ्क्रमण दर ह्वात्तै बढेपछि स्याङ्जाका पालिकाहरुले आइसोलेशन शैय्या निर्माणको तयारीलाई तीव्रता दिएका छन् ।



देशका विभिन्न ठाउँमा अक्सिजनको अभावका कारण सङ्क्रमितहरुको ज्यान गइरहेका बेला यहाँका पालिकाहरुले अक्सिजनसहितको शैय्या निर्माणको कार्यलाई तीव्रता दिएका हुन् ।

स्मार्ट सिटीको अवधारणामा अगाडि बढ्दै गरेको वालिङ नगरपालिकाले मङ्गलबारबाट अक्सिजनसहितको छ शैय्या सञ्चालनमा ल्याएको छ । वालिङ नगरपालिकाले गह्रौँ प्राथमिक अस्पतालमा तत्कालका लागि अक्सिजन र नेबुलाइजरसहितको सुविधा सम्पन्न छ शैय्या  तयार गरी सञ्चालनमा ल्याएको नगरप्रमुख दिलीपप्रताप खाँणले बताए ।

‘अस्पतालमा पहिलो चरणमा हामीले छ शैय्या निर्माण गरी सञ्चालनमा ल्याएका छौँ’, नगरप्रमुख खाँणले भने, ‘केही दिनभित्रैमा २५ शैय्या क्षमताको पुर्याउने गरी काम तीव्र गतिमा भइरहेको छ ।’

वालिङका नागरिकको स्वास्थ्यसम्बन्धी उपचारका लागि नगरपालिका प्रतिबद्ध रहेको उनले बताए । ‘सबैभन्दा ठूलो नागरिकको स्वास्थ्य हो यसप्रति नगरपालिका सजग र सचेत छ’, प्रमुख खाँणले भने, ‘कोभिड सङ्क्रमित कोही पनि बिरामीलाई अक्सिजनको कमी हुन दिने छैनौँ र उपचारमा कुनै अभाव महसुस हुन नदिने गरी तयारी गरिरहेका छौँ ।’

अस्पतालमा निर्माण गरिएको सुविधा सम्पन्न आइसोलेशनमा चौबिसै घण्टा चिकित्सक तथा स्वास्थ्यकर्मीले उपचार तथा परामर्श दिने व्यवस्था मिलाइएको स्वास्थ्य शाखा प्रमुख एवं जनस्वास्थ्य निरीक्षक कमलप्रसाद पाण्डेले बताए ।

नगरपालिकाले अस्पतालमा नै कोरोनाको एन्टिजिनसमेत परीक्षण गर्दै आएको अस्पतालका प्रमुख चिकित्सक सरोज थापाले बताए । परीक्षणको दर वृद्धिसँगै सङ्क्रमितको दर पछिल्ला दिनहमा बढ्दै गएकाले जटिल बिरामीलाई अस्पतालमै र सामान्य बिरामीलाई होम आइसोलेशनमा राखिएको प्रमुख चिकित्सक थापाले बताए । 

स्याङ्जाको फेदीखोला गाउँपालिका–३ स्थित भाटखोला स्वास्थ्यचौकीमा २० श्ययाको अक्सिजनसहितको आइसोलेशन सेन्टर निर्माण गरिएको गाउँपालिकाका अध्यक्ष घनश्याम सुवेदीले बताए ।

आइसोलेशन सेन्टरमा इन्टरकम फोन र टेलिभिजन जडान गरिएको छ । सिसी क्यामेराको जडान गरी उनीहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिने वा निगरानी गरिरहने व्यवस्था मिलाएको छ ।

यसैगरी स्याङ्जा सदरमुकाममा रहेको पुतलीबजार नगरपालिकाले करेण्डाँडा स्वास्थ्यचौकीमा २० शैय्या क्षमताको आइसोलेशन कक्ष निर्माण गरेको नगरप्रमुख सीमा क्षेत्रीले बताइन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट