लुम्बिनी- रुपन्देहीको तिलोत्तमा नगरपालिकाका प्रमुख र उपप्रमुखले चढ्ने सवारीलाई कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाइने भएको छ । नगरप्रमुख वासुदेव घिमिरे र उपप्रमुख जागेश्वरी चौधरीले आफूले चढ्दै आएका गाडी कोरोना संक्रमित बिरामीका लागि प्रयोगमा लगाएका हुन् ।
संक्रमितको संख्या दिनप्रतिदिन बढ्दै जाँदा एम्बुलेन्स समयमा नपाउने र एम्बुलेन्स सेवा पर्याप्त नभएपछि नगरप्रमुख र उपप्रमुखले आफूहरुले चढ्दै आएका दुई गाडी बिरामीको सेवाका लागि प्रयोगमा लगाउने निर्णय गरेका हुन् ।
नगरपालिकामा हाल आफ्नै मातहतमा दुई एम्बुलेन्स सञ्चालनमा छन् । नगरप्रमुख र उपप्रमुखले चढ्ने दुई गाडीसमेत गरी अब चार सवारी साधनले कोरोना संक्रमित बिरामीलाई बोक्नेछन् ।
छिटोछरितोरूपमा सेवा दिनका लागि आफूहरुले चढेको गाडी कोरोना संक्रमितका लागि प्रयोगमा ल्याइएको नगरप्रमुख घिमिरेले बताए । आज नगरप्रमुख र उपप्रमुखले आफूले चढ्ने गाडीको चाबी कोरोना फोकल पर्सन केशव भट्टराईलाई हस्तान्तरण गरे । कोरोना महामारीको विकराल रूप नहट्दासम्म आफूहरु वैकल्पिक व्यवस्था गरी जनताको सेवामा जुट्ने उपप्रमुख चौधरीले बताइन् ।
संक्रमितलाई अन्य साना सवारी साधनले सजिलै अस्पताल वा आइसोलेशनमा नपुर्याउँदा समस्या बढ्दै गएको पाइएकाले यो निर्णय गरिएको उनीहरूको भनाइ छ । नगरप्रमुखले प्रयोग गर्ने लु १ झ ३६० र उपप्रमुखले प्रयोग गर्ने लु १ झ ३२६ नंको स्कारपियो आजैदेखि कोरोना संक्रमितलाई बोक्न प्रयोगमा आएका छन् ।