भारतमा एकैदिन चार हजारको मृत्यु, चार लाख १२ हजार संक्रमित-Sutra News

भारतमा एकैदिन चार हजारको मृत्यु, चार लाख १२ हजार संक्रमित

बिहिबार, २३ बैशाख २०७८

बिहिबार, २३ बैशाख २०७८

नयाँ दिल्ली- कोरोना भाइरस महामारीका कारण भारतमा पछिल्लो एक दिनमा झण्डै चार हजारको मृत्यु भएको छ । सरकारी अधिकारीहरुले बिहीबार बिहान दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा तीन हजार ९८० जनाको मृत्यु भएको हो ।



योसँगै भारतमा कोरोना भाइरसका कारण मृत्यु भएकाहरुको कुल संख्या दुई लाख ३० हजार १६८ पुगेको छ । भारतमा पछिल्लो एक दिनमा कोरोना भाइरसबाट अहिलेसम्मकै सबैभन्दा धेरै संक्रमित भएको पाइएको छ ।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा भारतमा देशभरी गरेर कुल चार लाख १२ हजार २६२ जना संक्रमित भएको जानकारी दिएको छ । एकै दिनमा यति धेरै संक्रमित भएको यो पहिलो पटक भएको सरकारी अधिकारीहरुले जनाएका छन् ।

भारतमा कोरोना भाइरसका कारण अहिलेसम्म कुल दुई करोड १० लाख ७७ हजार ४१० जना संक्रमित भएका छन् । पछिल्लो २४ घण्टामा भारतमा तीन लाख २९ हजार ११३ जना कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् । योसँगै भारतमा अहिलेसम्म संक्रमणमुक्त भएकाहरुको कुल सङ्ख्या एक करोड ७२ लाख ८० हजार ८४४ पुगेको छ ।

भारतमा अहिले पनि ३५ लाख ६६ हजार ३९८ जना कोरोना भाइरसबाट संक्रमित भइरहेकै अवस्थामा रहेका छन् । भारतीय स्वास्थ्य अनुसन्धान परिषद्का अनुसार यही मे ५ तारिखसम्ममा भारतमा २९ करोड ६७ लाख ७५ हजार २०९ कोभिडको नमुना परीक्षण गरिएको छ । ती मध्ये १९ लाख २३ हजार १३१ जनाको बुधबार परीक्षण गरिएको हो ।

भारतमा अहिलेसम्म १६ करोड २५ लाख १३ हजार ३३९ मात्राको कोरोनाभाइरसविरुद्धको खोप प्रयोग भएको मन्त्रालयले जनाएको छ । भारतमा कोरोनाको परीक्षण र खोप अभियान एकातिर चलिरहेको छ भने अर्कोतिर कोरोना भाइरसबाट संक्रमित भएका र मृत्यु भएकाहरुको सङ्ख्या पनि दिन प्रतिदिन बढ्दो छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट