अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु-Sutra News

अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

बिहिबार, २३ बैशाख २०७८

बिहिबार, २३ बैशाख २०७८

काठमाडौं- चौथो नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) आजदेखि सुरु भएको छ ।



नेपाल चलचित्र तथा सांस्कृतिक प्रतिष्ठानको आयोजनामा नेपाली चलचित्र र चलचित्रकर्मीलाई विश्वका चलचित्र र चलचित्रकर्मीमाझ परिचित गराउने तथा चलचित्रमार्फत नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वभरि फैलाउने उद्देश्यका साथ महोत्सव सुरु गरिएको हो ।

महोत्सवको भर्चुअल उद्घाटन गर्दै राष्ट्रिय योजना आयोगका सदस्य डा.रामकुमार फुयाँलले महोत्सवले नेपाली चलचित्रका माध्यमबाट नेपाली कला, संस्कृति र पर्यटनलाई विश्वसामु प्रचार गर्ने बताए ।

चलचित्र विकास बोर्डका अध्यक्ष दयाराम दाहालले महोत्सवले विभिन्न देशबीच आत्मीय सम्बन्ध राख्न सहयोग पुग्ने विश्वास व्यक्त गरे । पोर्चुगलका चलचित्र निर्देशक ज्वाओ पाउलो म्याकेज्डोले महोत्सवमा सहभागी नेपाली चलचित्रबाट नेपाली कथा र विषयवस्तु बुझ्न पाइने बताए ।

चलचित्र निर्देशक तुलसी घिमिरेले महोत्सवले समग्र चलचित्र क्षेत्रको विकास र विस्तारमा सहयोग पुर्याउने बताए ।

महोत्सवमा भारतीय अभिनेता अनुराग कश्यपले आफ्नो अनुभव सुनाए । उनले नेपालका मनोरम दृश्य र नेपाली कथा समेटिएको चलचित्रलाई विश्वबजारले समेत उत्साहका साथ हेरिरहेको बताए ।

प्रतिष्ठानका अध्यक्ष केपी पाठकले नेपाल सहित ३१ देशका ६५ वृत्तचित्र र छोटा चलचित्र महोत्सवमा सहभागी रहेको जानकारी दिए ।

नेपालका तर्फबाट आठ छोटा चलचित्र समाविष्ट छन् । महोत्सव यही वैशाख २७ गतेसम्म सञ्चालन हुनेछ । कोरोना भाइरसका कारण यसपटक महोत्सवलाई भर्चुअल रुपमा सञ्चालन गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट