काठमाडौं- वाचन शिरोमणि पण्डित नारायण पोखरेलले छुवाछूत र जातीय विवेकका विरुद्धमा गरेको योगदानको स्मरण गरिएको छ ।
पोखरेलको १६औँ स्मृति दिवसका अवसरमा नारायण पोखरेल प्रतिष्ठानले आज वेभिनारबाट आयोजना गरेको ‘श्रद्धाञ्जलिसभा’ का वक्ताले आध्यात्मिक चिन्तनका माध्यमबाट समाज विकासमा पोखरेलले खेलेको भूमिकाको स्मरण गरे ।
कार्यक्रममा प्रतिष्ठानका संरक्षण अध्यक्ष एवम् वाचनप्रवीण दीनबन्धु पोखरेलले अध्यात्म क्षेत्रबाट पण्डित पोखरेलले मुलुकको विकासका लागि ठूलो भूमिका खेलेको बताए । भौतिकवाद र आध्यात्मिकवादको संयोजनबाट देशलाई अगाडि बढाउनुपर्ने उनको भनाइ थियो ।
विसं २०११ जेठ ३२ गते गोरखाको बगुवामा जन्मिएका पोखरेलले देशभरका ६५ भन्दा बढी जिल्लामा एक हजार १३६ पुराण वाचन गरेका थिए ।
धार्मिक क्रियाकलापबाट मानिसलाई सामाजिक विकासमा अभिप्रेरित गर्ने पण्डित पोखरेल नेपालका पहिलो धार्मिक शहीद हुन् । उनको विसं २०६२ वैशाख २३ गते रुपन्देहीको रामापुरमा हत्या गरिएको थियो । उनलाई जनस्तरबाट वाचन शिरोमणिको उपाधि दिइएको थियो ।
पण्डित पोखरेलका स्मृतिमा प्रतिष्ठान स्थापना गरेर काठमाडौंको नागार्जुन नगरपालिकास्थित रामकोटमा २० रोपनी क्षेत्रफलमा बद्रीनारायण धामसहितको नारायण आध्यात्मिक केन्द्र स्थापना गरिएको छ । उक्त धामसहितको केन्द्र निर्माणका लागि रु ४० करोड लाग्ने प्रतिष्ठानका संरक्षक अध्यक्ष पोखरेलले बताए ।