दार्चुलाको गाउँ-गाउँमा कोरोना-Sutra News

दार्चुलाको गाउँ-गाउँमा कोरोना

आइतबार, २६ बैशाख २०७८

आइतबार, २६ बैशाख २०७८

दार्चुला- तराई क्षेत्रमा मात्र होइन, दार्चुलाको ग्रामीण बस्तीसम्म कोरोनाको संक्रमण फैलिएको पाइएको छ । एक सातायता परीक्षण गरिएका नमूनामध्ये अधिकांशमा कोरोना संक्रमण पुष्टि भइरहेको छ । यसको असर सर्वसाधारण, जनप्रतिनिधि र कर्मचारीसमेतमा परेको छ ।



‘रुघाखोकीको लक्षण देखिएका, ज्वरो आउने र टाउको दुख्ने भएका बिरामीको नमूना परीक्षण गर्दा कोरोना संक्रमण देखिन थालेका छ’, अपिहिमाल गाउँपालिका स्वास्थ्य संयोजक राजेन्द्रसिंह धामीले भने, ‘गाउँका हरेक बस्तीसम्म संक्रमित भेटिँदैछन् । अहिले गाउँपालिकाका वडा नं १, २, ३, ४ र ५ मा नमूनाका रूपमा एन्टिजेनमार्फत कोरोनाको परीक्षण गरिँदैछ । स्थिति भयावह नै छ, सावधानी अपनाउनुको विकल्प छैन ।’

वडा नं ६ का वडाध्यक्ष गामसिंह धामीका अनुसार गाउँमा रुघाखोकी लागेर सिटामोल खानुको विकल्प छैन । उनले गाउँमा रुघाखोकीका बिरामी घरघरमा रहेको तर अहिलेसम्म परीक्षण नगरिएको बताए ।

वडा नं ६ स्थित आधारभूत स्वास्थ्यचौकी प्रमुख धनराज जोशीले दैनिक ८/१० भाइरलका बिरामी स्वास्थ्य संस्थामा आउने गरेको बताए । उनले भने, ‘तिनीहरूको कोरोना परीक्षण गरिएको छैन तर रुघाखोकीले समस्यामा परेका धेरै छन् ।’

गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालसहित १२ जनामा अहिलेसम्म कोरोना संक्रमण देखिएको छ । गाउँपालिकामा पर्याप्त मात्रामा एन्टिजेन किट नहुँदा सबैको परीक्षण गर्न नसकिएको गाउँपालिकाले जनाएको छ ।

‘स्वाब परीक्षण गर्ने भिटिएम वा एन्टिजेन किट पर्याप्त भयो भने सबै ठाउँमा पर्याप्त गर्न मिल्थ्यो’, अध्यक्ष मन्यालले भने, ‘स्वास्थ्य कार्यालयबाटै थोरै मात्र एन्टिजेन र भिटिएम पठाइएकाले नमूनाका रूपमा परीक्षण गर्दैछौँ ।’

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट