काठमाडौं- प्रधानमन्त्री केपी शर्मा ओलीले विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको संसद बैठकमा सांसदहरू जाने क्रम जारी छ ।
सांसदहरुलाई पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको एकिन गरेर मात्रै बैठक कक्षमा प्रवेश दिइएको छ । पीपीई लगाएर मुख्य ढोकामा खटिएका कर्मचारीहरुले सांसद तथा कर्मचारीहरुको पीसीआर रिपोर्ट चेक गर्दै प्रवेश अनुमति दिएका छन् ।
संसदको बैठक केही बेरमा बस्दै छ । बैठकमा प्रधानमन्त्री ओलीले लिन चाहेको विश्वासको मतमाथि मतदान हुने छ । संसद बैठकमा सहभागी हुनेहरुलाई कोरोना परीक्षणको नेगेटिभ रिपोर्ट अनिवार्य गरिएको छ ।
पीसीआर परीक्षण नगराएकाहरुलाई एन्टिजेन परीक्षण गराएर मात्रै बैठकमा सहभागी गराइने संसद सचिवालयले जनाएको छ ।