भारतमा कोभिड-१९ का संक्रमित केही घटे, ३ हजार ७५४ को मृत्यु-Sutra News

भारतमा कोभिड-१९ का संक्रमित केही घटे, ३ हजार ७५४ को मृत्यु

सोमबार, २७ बैशाख २०७८

सोमबार, २७ बैशाख २०७८

नयाँ दिल्ली- कोरोना भाइरस महामारीको दोस्रो लहरका कारण निकै प्रभावित भएको भारतमा पछिल्लो २४ घण्टामा कोरोना भाइरसबाट संक्रमितको संख्या अघिल्लो दिनहरुको तुलनामा केही कमी आएको छ । भारतीय केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले पछिल्लो २४ घण्टामा तीन लाख ६६ हजार व्यक्ति संक्रमित भएको जनाएको छ । यो सहित भारतमा हालसम्म कूल संक्रमितको संख्या २ करोड २६ लाख ६२ हजार पुगेको छ ।



साथै, विगत २४ घण्टामा तीन हजार ७५४ जनाको मृत्यु भएको छ । भारतमा यो सहित २ लाख ४६ हजार ११६ जनाको कोभिड-१९ को संक्रमणबाट ज्यान गइसकेको छ । भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५३ हजार व्यक्ति कोभिड-१९ बाट संक्रमणमुक्त भएका छन् । हालसम्म भारतमा यो सहित १ करोड ८६ लाख ७१ हजार व्यक्ति संक्रमणमुक्त भएको पाइएको छ ।

यसैबीच, गत जनवरीबाट थालिएको कोभिड-१९ विरुद्धको खोप लगाउने व्यक्तिको संख्या १७ करोड २ लाख पुगेको मन्त्रालयले जनाएको छ । हाल भारतमा १८ वर्षभन्दा माथिका व्यक्तिलाई खोप दिन थालिएको छ । भारतीय स्वास्थ्य अनुसन्धान परिषदका अनुसार भारतमा ३० करोड ३७ लाख नमुना परीक्षण गरिएको छ ।

भारतमा कोभिड-१९ को दोस्रो लहरले स्वास्थ्य संस्थामाथि ठूलो दबाब आएको छ । अक्सिजन, शैया, औषधि र अस्पतालको अभावमा मानिसहरुले सामान्य उपचार समेत नपाएर अकालमा ज्यान गुमाउनु परेको भारतीय सञ्चार माध्यमहरुले जनाएको छ । यसैबीच, कोरोना भाइरसको संक्रमणबाट विश्वभर ३३ लाख ६ हजार व्यक्तिको ज्यान गएको विश्व स्वास्थ्य संगठनले जनाएको छ ।

विश्वमै सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा ५ लाख ९५ हजार, ब्राजिलमा ४ लाख २२ हजार, भारतमा २ लाख ४६ हजार, मेक्सिकोमा २ लाख १८ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २२ हजार, रसियामा १ लाख १३ हजार तथा फ्रान्समा १ लाख ६ हजारको कोभिड-१९ को संक्रमणबाट मृत्यु भइसकेको छ ।

पछिल्लो समय संयुक्तराज्य अमेरिका र युरोपमा कोरोनाभाइरस विरुद्धको खोप व्यापक स्तरमा लगाउन थालिएपछि कोभिड-१९ बाट प्रभावितहरुको संख्यामा उल्लेख कमी आएको जोन्स हप्किन्स विश्वविद्यालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट