ताप्लेजुङ- ताप्लेजुङको फुङलिङ नगरपालिका-७ बहानन्दे नजिकै माथिबाट अचानक झरेको ढिस्कोमा पुरिएर एक बालकको ज्यान गएको छ ।
बहानन्दे दोभान सडकखण्डमा सोमबार माथिबाट झरेको ढिस्कोमा पुरिएर मेरिङदेन गाउँपालिका-२ सान्थाक्राका अन्दाजी १३ वर्षीय फुर्वा शेर्पाको ज्यान गएको हो ।
फुर्वा सोही स्थानमा सडक निर्माणका लागि ढुङ्गा ओसार्ने र गिट्टी कुट्ने काम गर्दै आएका आफ्ना बुबाआमासँगै गएका थिए ।
ढुङ्गा निकाल्दै गरेको भागमा माथिबाट अचानक झरेको ढिस्कोले पुरिएर फुर्वाको घटनास्थलमै निधन भएको प्रहरीले जनाएको छ ।
मृतकको शव परीक्षणका लागि जिल्ला अस्पताल लगिएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ ।