काठमाडौं- नेकपा एमालेको समानान्तर संगठन विस्तारमा लागेका वरिष्ठ नेता माधव नेपालले सोमबारपछि विकसित भएको राजनीतिमाथि आगामी रणनीति बनाउन छलफल सुरु गरेका छन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्वासको मत नदिने निर्णय गर्दै सोमबार नेपाल समूहका सांसदहरुले प्रतिनिधिसभाको बैठक वहिष्कार गरेका थिए ।
संसदमा अनुपस्थित भएको नेपालपक्ष आगामी रणनीति बनाउन आन्तरिक छफलमा जुटेको हो । नेपाल पक्षका स्थायी कमिटी सदस्यहरुबीच मंगलबार अबको रणनीति के हुने भन्ने बारे छलफल हुन लागेको हो ।
एमालेको ह्वीप उल्लंघन गरेर अनुपस्थित भएकाले पार्टीले कारबाही गर्ने संभावना एकातिर छ भने ओलीलाई विश्वासको मत नदिएकाले वैकल्पिक सरकार बनाउन सघाउने पर्ने बाध्यता पनि सो समूहमाथि छ ।
यस्तो अवस्थामा आगामी रणनीतिमा स्पष्ट भएर अघि बढ्न नेपाल समूहले बैठक राख्न लागेको नेपाल पक्षका एक नेताले बताए । कोरोना महामारीका कारण बैठक भर्चुअल हुनसक्ने बताइएको छ ।