अस्पतालमा रगत अभाव पूर्तिका लागि रक्तदान कार्यक्रम गरिँदै-Sutra News

अस्पतालमा रगत अभाव पूर्तिका लागि रक्तदान कार्यक्रम गरिँदै

मंगलबार, २८ बैशाख २०७८

मंगलबार, २८ बैशाख २०७८

काठमाडौं- कोरोना संक्रमितको संख्या दिनहुँ बढेसँगै अस्पतालमा देखिएको रगतको चरम अभाव पूर्तिका लागि तीन संस्थाको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना हुने भएको छ ।



जेठ १ गते रातोपुलस्थित नेशनल बाथ रोग सेन्टरमा लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्ड, अटो नेपाल मासिक र सहयोगी महिला जागरण मञ्चको संयुक्त आयोजनामा रक्तदान कार्यक्रम आयोजना हुने भएको हो ।

नेपाल रेडक्रस सोसाइटीले सामान्य गर्भवती महिला र अप्रेसन गर्नुपर्ने बिरामीका लागि समेत आवश्यक रगत अभावले अप्रेसन हुन नसकेको बताएपछि निषेधाज्ञाकैबीच आकस्मिक रुपमा रक्तदान कार्यक्रम आयोजना गरिएको लायन्स क्लब अफ काठमाडौं सोसियल फ्रेन्डसका अध्यक्ष भुषणकुमार श्रेष्ठले बताए ।

‘हामीले सहयोग गर्ने यस्तै अवस्थामा हो । सम्भव भएसम्म हरेक दुई-दुई हप्तामा हामी सकेको रगत संकलन गरेर रेडक्रसलाई बुझाउने छौं । निषेधाज्ञाकाबीच हामी बाहिर निस्कन सक्ने अवस्थामा छैनौं । तर अत्यन्त आकस्मिक पर्यो भने जीवनरक्षाका निम्ति जस्तो पनि सहयोग गर्न तयार छौ,’ अध्यक्ष श्रेष्ठले भने, ‘कोरोना संक्रमणको जोखिमलाई मध्यनजर गर्दै आवश्यक स्वास्थ्य मापदण्ड अपनाएर रक्तदान कार्याक्रम आयोजना गरिने छ ।’

नेपाल प्रहरीसँग सहकार्य गरी रक्तदातालाई कार्यक्रमस्थलसम्म आउनका लागि वातावरण मिलाउने तयारी भइरहेको आयोजकले बताएको छ । ‘बिरामीको जीवनरक्षका लागि कार्यक्रममा सहभागी भई रक्तदान गरिदिन हामी सबैमा आह्वान गर्छौं,’ अध्यक्ष श्रेष्ठले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट