भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघ्यो-Sutra News

भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २ लाख ५० हजार नाघ्यो

बुधबार, २९ बैशाख २०७८

बुधबार, २९ बैशाख २०७८

नयाँ दिल्ली- विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाइरसबाट भारतमा ज्यान गुमाउनेको संख्या दुई लाख ५० हजार नाघेको छ ।



केही दिनदेखि कोभिड संक्रमित व्यक्तिको संख्यामा लगातार कमी आए पनि मृत्यु भएका व्यक्तिको दैनिक संख्यामा खासै कमी आएको छैन ।

कोभिड-१९ बाट प्रभावित धेरै राज्य र शहरमा निषेधाज्ञा, लकडाउन र प्रतिबन्धहरु घोषणा गरिएसँगै संक्रमितको संख्या घट्न थालेको अनुमान गरिए पनि देशका सबैजसो भागका स्वास्थ्य संस्थाले गम्भीर सङ्कटको सामना गर्नु परिरहेको छ ।

भारतीय सञ्चार माध्यमहरुले देशका विभिन्न भागमा मानिसहरु अक्सिजन, औषधि, बेड र अस्पतालमा भर्ना हुन नपाएर बाटामै मानिसको मृत्यु भएका दर्दनाक तस्वीर र भिडियो प्रकाशन प्रशारण गरिरहेका छन् ।

भारतको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले विगत २४ घण्टामा तीन लाख ४८ हजार जना नयाँ संक्रमित थपिएको जनाएको छ । यो सहित भारतमा हालसम्म कूल संक्रमितको संख्या दुई करोड ३३ लाख ४० हजार पुगेको छ ।

यसैबीच, कोभिड-१९ को महामारीका कारण २४ घण्टामा थप ४ हजार २०५ जनाको मृत्यु भएको छ । यो सहित भारतमा कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या दुई लाख ५४ हजार १९७ जना पुगेको मन्त्रालयले जनाएको छ ।

भारतमा हाल ३७ लाख ४ हजार व्यक्ति सक्रिय संक्रमित अवस्थामा रहेका छन् जुन अघिल्लो दिनभन्दा करिब ११ हजारले कमी हो । हालसम्म एक करोड ९३ लाख ८२ हजार व्यक्ति कोरोना भाइरसबाट संक्रमणमुक्त भएका छन् ।

कोरोना भाइरसको दोस्रो लहरका कारण ठूलो मानवीय क्षति भइरहे पनि सरकारले देशव्यापी लकडाउन नगरिने स्पष्ट गरेको छ । कतिपय राज्यले राति कफ्र्यु लगाएका छन् भने केहीमा आंशिक लकडाउन गरेका छन् ।

कोरोना भाइरसको संक्रमणबाट निकै प्रभावित राजधानी नयाँ दिल्लीमा आगामी मे १७ सम्म लकडाउन घोषणा गरिएको छ ।

मन्त्रालयका अनुसार गत जनवरीबाट सुरु भएको खोप अभियान मार्फत् हालसम्म १७ करोड ५० लाख व्यक्ति लाभान्वित भएका छन् । गत मे १ तारिखबाट शुरु भएको तेस्रो चरणको खोप अभियानमा १८ वर्षभन्दा माथिको उमेर समूहका व्यक्तिलाई खोप दिन थालिएको छ ।

यसैबीच, भारतीय स्वास्थ्य अनुसन्धान परिषदले देशभर कोभिडको हालसम्म ३० करोड ७५ लाख नमुना परीक्षण गरिएको जनाएको छ ।

विश्वभर कोभिडबाट ३३ लाख ३१ हजारको मृत्यु

विश्व स्वास्थ्य संगठन र जोन्स हप्किन्स विश्वविद्यालयका अनुसार कोरोना भाइरसको महामारीका कारण विश्वभर ३३ लाख ३१ हजार व्यक्तिको मृत्यु भएको छ । कूल १६ करोड ४ लाख व्यक्ति कोरोना संक्रमित भएकामा करिब १३ करोड ८१ लाख व्यक्ति संक्रमणमुक्त भएका छन् ।

साथै, करिब एक लाख व्यक्ति विश्वभर गम्भीर स्वास्थ्य समस्याबाट पीडित रहेका छन् । कोरोना भाइरस संक्रमणबाट सर्वाधिक असर परेको संयुक्तराज्य अमेरिकामा हालसम्म ५ लाख ९६ हजार ९४६ जनाको मृत्यु भएको छ ।

त्यसपछिका निकै असर परेका मुलुकहरुमध्ये ब्राजिलमा ४ लाख २५ हजार, भारतमा २ लाख ५४ हजार, मेक्सिकोमा २ लाख १९ हजार, बेलायतमा १ लाख २७ हजार, इटालीमा १ लाख २३ हजार, रसियामा १ लाख १३ हजार र फ्रान्समा १ लाख ६ हजार व्यक्तिको मृत्यु भएको छ ।

युरोप र उत्तर अमेरिकामा कोभिड-१९ विरुद्धको खोप अभियान तीव्र पारिएसँगै कोरोना भाइरसको संक्रमण र मृत्युदर दुबैमा कमी आएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट