काठमाडौं- नेकपा माओवादीका नेता नारायणकाजी श्रेष्ठले वर्तमान सरकारले गैर-जिम्मेवारी र नालायकीपनको हद नाघेको आरोप लगाएका छन् । कोभिड-१९ को महामारीमा गर्न सक्ने काम पनि नगरेर सरकारले गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाएका हुन् ।
सामाजिक सञ्जाल फेसबुकमार्फत श्रेष्ठले अक्सिजन नपाएर बिरामी मरिरहेको अवस्थामा सरकार हात बाँधेर बसेकोसमेत तर्क गरेका छन् । ‘यो सरकारको गैरजिम्मेवारी र नालायकीको हद भयो । आइसियु र भेन्टिलेटरको कुरा छाडौं, अक्सिजन नपाएर कोभिड बिरामी हेर्दा हेर्दै मरिरहेका छन्,’ उनले भनेका छन्, ‘उपचारमा खटिएका चिकित्सक एवं नर्सहरु त्यो दृश्य टुलुटुलु हेर्नुपरेकोमा रुँदै कराई रहेका छन् ।’
राजधानीका कतिपय ठुला अस्पतालहरुले भर्ना भई उपचाररत कोभिड बिरामीलाई अक्सिजनको अभावका कारण उपचार गर्न नसकिने भन्दै अस्पलालबट बाहिर पठाईरहेको र कतिपय अस्पतालले अब कोभिड बिरामी भर्ना गर्न नसकिने सूचना सार्वजनिक गरेको अवस्थामा अहिले रहेको उनको भनाइ थियो ।
उनले बुटवललगायतका अस्पतालहरुले आधा घण्टा अक्सिजन बन्द भएकाले केही बिरामीहरुको मृत्यु भएको कुरा आएकोसमेत उल्लेख गरे ।
यस्तो अवस्थामा जनता मारेर सरकार कसरी बस्न सकेको भनी श्रेष्ठले प्रश्न गरेका छन् । ‘हिजोमात्र कोभिड महामारीबाट जनतालाई बचाउन रातदिन नभनी खटिरहनु भएका ट्रमा सेन्टरका डाइरेक्टर डा.संतोषले समेत अक्सिजनको अभावमा बिरामीको ज्यान गइरहेको भन्दै अक्सिजनको लागि हारगुहार गर्नुभएको छ । यसरी गर्न सक्ने काम पनि नगरी जनता ‘मारेर’ बस्न कसरी सकेको छ सरकार ?’ श्रेष्ठले भने ।
उनले यसपटक अग्रपंक्तिमा खटिरहेका चिकित्सक, नर्स र स्वास्थ्यकर्मीको कामको सम्मान र अनुसरण गर्दै महामारीबाट जनता बचाउन आ–आफ्नो ठाउँबाट लाग्नसमेत आह्वान गरेका छन् ।