कैलाली- कैलालीमा हावाहुरीका कारण रुख ढल्दा एकजना महिलाको मृत्यु भएको छ ।
गएराति वर्षासँगै आएको हावाहुरीले रुख ढल्दा रुखबाट च्यापिएर टीकापुर नगरपालिका-१ एकतानगर शिविरकी ४० वर्षीया देउकला कामीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब निरीक्षक भरतबहादुर चौधरीले जानकारी दिए ।
हावाहुरीले कच्ची घरमाथि रुख ढल्दा च्यापिएर कामीको मृत्यु भएको हो ।
यस्तै हावाहुरीले कैलारी गाउँपालिका-५ का अंकित बोहराको घरको छाना उडाइदिएको छ । त्यसबाट अन्दाजी ७० हजार बराबरको क्षति भएको छ ।
प्रहरी नायव निरीक्षक चौधरीका अनुसार हावाहुरीले जिल्लाका विभिन्न स्थानका घर, गोठ तथा सडकमा रहेका विद्युतका खम्बामा क्षति गरेको छ ।