काठमाडौं- नेपाली कांग्रेसले सरकारको दाबी गर्न छाडेको छ । कांग्रेसले आफ्नो बहुमत नपुगेर दाबी गर्न छाडेको बताएको छ ।
बिहीबार सभापति शेरबहादुर देउवा निवास बूढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले जनता समाजवादी पार्टी, नेपाल (जसपा) र नेकपा एमालेको माधव नेपाल पक्षसँग कुरा नमिल्दा सरकारको दाबी गर्न नसकेको स्वीकार गरेको हो ।
राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार बेलुका ९ बजेसम्म धारा ७६ (२) अनुसारको बहुमतीय सरकारको दाबी आह्वान गरे पनि कांग्रेस यसबाट पछि हटेको हो ।
पदाधिकारी बैठक अघि कांग्रेसले जसपाका नेताद्वय महन्थ ठाकुर र राजेन्द्र महतोसँग भेटवार्ता गरेको थियो । कांग्रेसले माओदी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) सँग पनि छलफल गरेको थियो ।
माओवादी केन्द्रले पनि बहुमतको सरकारमा दावी नगर्ने बताएको छ ।
पार्टी कार्यालय पेरिस डाँडामा बिहीबार बसेको केन्द्रको स्थायी कमिटी बैठकले बहुमतको सरकारमा दावी नगर्ने निष्कर्ष निकालेको प्रवक्ता नारायणकाजी श्रेष्ठले जानकारी दिए ।
योसँग राष्ट्रपतिले धारा ७६ (३) अनुसार सबैभन्दा ठूलो दलको नेताका हैसियतले केपी ओलीलाई प्रधानमन्त्री बनाउने बाटो खुलेको छ ।