काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीका प्रेस सल्लाहकार सूर्य थापाले वरिष्ठ नेता माधव नेपालकाे प्रशंसा गरेका छन् ।
बिहीबार ओलीसँगको वार्तापछि नेता नेपाल मिलेर अघि बढ्ने निर्णयमा पुगेका छन् भने आफ्ना समूहका सांसदको सामूहिक राजीनामा पनि रोकेका छन् ।
यो निर्णयसँगै नयाँ सरकार गठन गर्ने नेपाली कांग्रेस र माओवादी केन्द्रको योजना असफल भएको हो । यसै सन्दर्भमा प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाले माधव नेपालको प्रशंसा गरेका हुन् ।
दुई नेता (ओली र नेपाल) सँगै उभिएको तस्बिरसहित ‘विशेष क्षण’ शीर्षकमा थापाले सामाजिक सञ्जालमा लेखेका छन्, ‘पुष्पकमल दाहालले आफ्नो गुटको स्थायी कमिटी बैठकमा हिजो भन्नुभएछ- माधव नेपालजीले धोका दिनुभयो, गठबन्धनको सरकार नबन्ने भयो । धोका नै दिनुभएको हो कि होइन ? तर पोजिसन चेन्ज गरेर हामी एमालेहरू भन्छौं- एकदम सही गर्नुभयो माधव कमरेड ! बल्ल तपाईं सही संगतमा आउनु भयो ।’