काठमाडौं- नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आफ्नो पार्टीले अब अरूको विरोधमा समय खेर फाल्नु नहुने बताएका छन् । शुक्रबार बिहान सामाजिक सञ्जालमार्फत् उनले पार्टी एकता कायम राखेकोमा नेकपा एमालेका नेताहरुलाई बधाइसमेत दिएका छन् ।
‘नेकपा एमालेका कमरेडहरुलाई बधाई तथा शुभकामना,’ श्रेष्ठले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हाम्रो पार्टी र अन्य कम्युनिष्ट क्रान्तिकारीहरु, मुख्यतः हाम्रो पार्टी नेकपा (माओवादी केन्द्र) ले अब प्रतिक्रियात्मक भएर अरुको बिरोधमा समय खेर फाल्नु हुँदैन ।’
उनले अब पार्टी देशभक्ति, क्रान्तिनिष्ठता, सिध्दान्तनिष्ठता र जनसेवालाई आत्मसात गर्दै व्यवस्थित रुपमा बैचारिक सांस्कृतिक रुपान्तरण र संगठनात्मक सुदृढीकरणको अभियान सञ्चालन गर्नुपर्नेमा पनि जोड दिएका छन् ।
‘बैचारिक छिपछिपेपन, विधिपध्दतिको अवज्ञा, व्यक्तिवाद, संकिर्णता, अनेकता, गुटवन्दी, भ्रष्टीकरणबाट माथि उठ्नुपर्छ र त्यसको बिरुध्द संघर्ष गर्न दृढ हुनुपर्छ । त्यसरी मात्र हामी क्रान्तिकारी पार्टी निर्माण र समाजवादको यात्रामा सफलताउन्मुख हुँदै अघि बढ्न सक्नेछौं,’ श्रेष्ठले भने ।
नेता श्रेष्ठले क्रान्तिकारीहरु कुनै पनि परिस्थितिबाट विचलित र निराश बन्नु नहुनेमा जोड दिएका छन् । ‘बिचलन, निराशा र निष्कृयता क्रान्तिकारी गुणचरीत्र होइन । घिसिपिटेपन र तदर्थवादबाट फड्को नमारीकन पनि आजको आवश्यकता पूरा गर्न सकिने छैन । तत्कालै भने सिङ्गो पाटी पङ्क्ति कोरोना महामारीसँग जुझ्न स्वयंसेवामा जुटौं !’