काठमाडाैं- सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधव नेपालबीच शुक्रबार साँझ अर्को चरणको वार्ता हुने भएको छ ।
स्थायी कमिटी सदस्य युवराज ज्ञवालीले वार्ता तय भएको तर समय र स्थान भने गोप्य राखिएको बताए ।
‘वार्ता हुने भनिएको छ, अहिलेसम्म हामी आन्तरिक छलफलमै व्यस्त छौं,’ ज्ञवालीले भने, ‘साँझ दुवै पक्षको वार्ता कुने कुराकानी छ । समय र स्थान भने अहिलेसम्म तोकिएको छैन ।’
सर्वोच्च अदालतको फैसलाअनुसार पार्टीलाई २०७५ को जेठ २ गते नै फर्काएर नयाँ शुरुवात गर्नुपर्ने माग नेपाल समूहको रहेको छ । बिहीबार सञ्चार उद्यमी क्याप्टेन रामेश्वर थापाको चपली हाइटस्थित निवासमा भएको भेटवार्तामा ओली नेपाल समूहको माग पूरा गर्न सकारात्मक देखिएका थिए ।
बिहीबार भएको वार्तापछि तत्काल राजीनामा दिने मूडबाट नेपाल समूह पछि हटेको थियो । नेपाल समूह पछि हटेपछि कांग्रेस र माओवादी केन्द्रसहितको विपक्षी गठबन्धनले सरकारमा दाबी गर्न सकेको थिएन ।
संविधानको धारा ७६ को उपधारा ३ अन्तर्गत सबैभन्दा ठूलो दलको संसदीय दलको नेताको हैसियतमा ओली तेस्रोपटक प्रधानमन्त्रीमा नियुक्त भइसकेका छन् । शुक्रबार नै ओलीसहित अन्य मन्त्रीहरूले सपथ ग्रहण गर्ने कार्यक्रम रहेको छ ।
सपथ ग्रहणपछि नेता नेपालसँग भेट हुने ओलीनिकट स्रोतले दाबी गरेको छ । ‘भेट सम्भवतः बालुवाटारमै हुन्छ होला,’ ओलीनिकट एक नेताले भने । सपथ ग्रहणपछि ओलीले नयाँ पदभार लिनेछन् । त्यसपछि नेता नेपाल र उनका समूहका नेताहरूसँग वार्ता हुनेछ ।
आजको वार्तामा कार्यदल बनाएर समस्या समाधान गर्ने विषयलाई प्राथमिकता दिने नेताहरूको तयारी छ । कार्यदलको संयोजक अर्थमन्त्रीसमेत रहेका विष्णु पौडेल रहने पक्कापक्की भइसकेको छ भने नेपाल पक्षबाट तीजजना र पूर्वमाओवादी पृष्ठभूमिका नेतामध्ये एक या दुईजनालाई समेट्ने तयारी छ ।
गत फागुन २८ गते ओलीले गरेको एकलौटी निर्णय खारेज गर्न नेपाल समूहले दबाब दिइरहेको छ । ओलीले त्यतिबेला आफ्नो समूहका नेताहरूलाई बोलाएर महाधिवेशनको मिति तोक्ने लगायत केही अन्य विशेष निर्णय गराएका थिए ।