पूर्वरानी डिस्चार्ज-Sutra News

पूर्वरानी डिस्चार्ज

शुक्रबार, ३१ बैशाख २०७८

शुक्रबार, ३१ बैशाख २०७८

काठमाडाैं- नर्भिक इन्टरनेशल हस्पिटलमा उपचाररत पूर्वरानी कोमल शाह आज डिस्चार्ज भएकी छन् । शुक्रबार अपरान्ह ४ बजे अस्पतालबाट डिस्चार्ज भएकी हुन् ।



उनीसँगै पूर्वअधिराजकुमारी प्रेरणा शाहसमेत अस्पतालबाट डिस्चार्ज भएको अस्पतालले जनाएको छ ।

कोरोना संक्रमण भई २१ दिनअघि नर्भिक अस्पतालमा पूर्वराजा ज्ञानेन्द्र शाहसहित उनीहरु भर्ना भएका थिए । पूर्वराजा ज्ञानेन्द्र शाह वैशाख २९ गते राति ८ बजे डिस्चार्ज भएका थिए । त्यसको २ दिनपछि पूर्वरानी र पूर्वअधिराजकुमारी समेत डिस्चार्ज भएका हुन् ।

अस्पताल आएदेखि नै पूर्वरानी कोमल शाहको अवस्था बिग्रिन थालेको थियो । उनलाई अक्सिजनको हाइफ्लो सपोर्टमा राखेर उपचार गरिएको थियो । अक्सिजन निरन्तर घटेपछि आइसियूमा राखेर समेत केही दिन उपचार गरिएको थियो ।

प्लाज्मा थेरापी विधिबाटसमेत उपचार गरिएको थियो । निरन्तरको उपचारले उनको अवस्थामा पछिल्ला केही दिनदेखि सुधार आइरहेको थियो । क्रमिक रुपमा सुधार भइरहेको उनी अवस्था सामान्य बन्दै गएपछि डिस्चार्ज गरिएको हो ।

पूर्वअधिराजकुमारी प्रेरणा शाहको अवस्था सुरुवातदेखि नै सामान्य र स्थिर थियो । पूर्वराजा, पूर्वरानी र अधिराजकुमारीको उपचारमा नर्भिक अस्पतालका सिनियर फिजिसियन तथा कार्डियोलोजिष्ट डा.जेपी जैसवाल र चेस्ट फिजिसियन डा.बी श्रीवास्तव नेतृत्वको टिम संलग्न थियो ।

नर्भिकको टिमलाई पूर्वराजपरिवारका निजी चिकित्सकले पनि सहयोग गरेका थिए । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट