काठमाडाैं- प्रधानमन्त्रीसमेत रहेका सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेका अध्यक्ष र वरिष्ठ नेता माधव नेपालबीच आइतबार पुनः भेटवार्ता हुने भएको छ । भेटवार्ता १ बजेपछि सिंहदरबारमा हुने बताइएको छ ।
एमालेमा असन्तुष्ट समूहको नेतृत्व गरिरहेका नेता नेपाल पछिल्लो समयमा लचक बनेका छन् । सर्वोच्च अदालतले नेकपाको एकता भंग गरिदिएपछि पार्टीलाई एकता अघिको स्वरूपबाट चलाउनुपर्ने माग राख्दै आएका नेता नेपाल कार्यदल बनाउन सहमत भएका छन् ।
आज हुने नेताद्वयको छलफलमा कार्यदल बनाउने विषय उठ्नेछ । कार्यदलमा विष्णु पौडेललाई संयोजक राख्ने मोटामोटी सहमति भइसकेको छ ।
नेता नेपालको प्रतिनिधित्व गर्दै ३ जना र ओलीको प्रतिनिधित्व गर्दै ३ जना कार्यदलमा सहभागी हुन सक्ने बताइएको छ । कार्यदलमा पूर्व माओवादीबाट प्रतिनिधित्व गर्दै गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा बादल सहभागी हुनेछन् ।
कार्यदलले एमालेमा देखिएको समस्या समाधान गर्न प्रतिवेदन तयार गर्नेछ । पार्टीमा बनेका समानान्तर कमिटीको समायोजन गर्न चुनौती देखिएको छ ।