काठमाडाैं- सत्तारूढ दल नेकपा एमालेका स्थायी कमिटी सदस्य गोकर्ण विष्टले खाडीमा रहेका नेपाली युवाहरूलाई धन्यवाद दिएका छन् ।
आइतवार सामाजिक सञ्जाल फेसबुकमा एउटा स्ट्याटस लेख्दै बिष्टले आफ्नो गास काटेर अक्सिजन सिलिन्डर नेपाल पठाएको भन्दै खाडी मुलुकमा रहेका नेपाली श्रमिकहरूलाई धन्यवाद दिएका हुन् ।
‘खाडीमा रहेका नेपाली श्रमिक साथीहरू, तपाईंहरुलाई मेरो सलाम,’ उनले लेखेका छन्, ‘खाडीका विभिन्न मुलुकमा श्रम गरिरहनु भएका तपाईहरुले जन्मभूमिलाई अप्ठ्यारो परेको अवस्थामा आफ्नो गाँस काटेर सास पठाउनुभएको छ ।’
बिष्टले श्रमिकहरूले पठाएका ५६० थान अक्सिजन सिलिन्डरले थुप्रै नेपाली नागरिकहरूको जीवन जोगिने बताएका छन् । ‘यो कदमले कोरोना विरुद्धको लडाइँमा यसै गरी सहयोग गर्न सबैमा प्रेरणा जाग्नेछ, तपाईहरुलाई धेरै धेरै धन्यवाद,’ उनले लेखेका छन् ।