काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओली कोभिड-१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) को बैठकमा सहभागी भएका छन् ।
सिंहदरबार प्रधानमन्त्री कार्यालयमा जारी बैठकले कोभिड व्यवस्थापनसम्बन्धी नयाँ निर्णय गर्ने सम्भावना रहेको छ ।
लामो समय बालुवाटारबाट सरकार चलाएका प्रधानमन्त्री ओली आज सिंहदरबार पुगेका हुन् । कोभिड-१९ का कारण देशभर मृत्युदर बढिरहेका बेला प्रधानमन्त्रीसमेतको उपस्थितिमा सीसीएमसीको बैठक बस्नुलाई अर्थपूर्ण ढंगले हेरिएको छ ।
ओलीले शनिबार विज्ञहरूको टोलीलाई बालुवाटार बोलाएर कोभिड व्यवस्थापनका लागि महत्त्वपूर्ण सुझाव लिएका थिए । प्रधानमन्त्री ओली अब विज्ञहरूकै सुझावअनुसार अघि बढ्न चाहन्छन् ।
अक्सिजन अभावमा संक्रमितहरूको मृत्यु भएका समाचारहरू आइरहेका छन् । आज बसिरहेको बैठकले अक्सिजन आपूर्तिसम्बन्धी कुनै विशेष निर्णय गर्न सक्ने आंकलन गरिएको छ ।