हप्तामा हुने कामलाई दिनमा झार्नुस्, दिनमा हुनेलाई घण्टामा गर्नुस्ः प्रधानमन्त्री-Sutra News

हप्तामा हुने कामलाई दिनमा झार्नुस्, दिनमा हुनेलाई घण्टामा गर्नुस्ः प्रधानमन्त्री

आइतबार, २ जेष्ठ २०७८

आइतबार, २ जेष्ठ २०७८

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले कोभिड-१९ नियन्त्रणका लागि राज्यका सबै शक्तिहरू परिचालन गर्न निर्देशन दिएका छन् ।



आइतबार बसेको कोभिड-१९ संकट व्यवस्थापन केन्द्रको बैठकमा ओलीले अहिलेको महामारीका विरुद्ध लड्न सम्बद्ध निकायहरूलाई पूरै क्षमतामा परिचालन गर्न निर्देशन दिएका हुन् ।

‘कुनै प्रक्रियाहरूमा अल्झिएर या आर्थिक स्रोतको अभावले कसैको पनि ज्यान जानु हुँदैन,’ ओलीको भनाइ उदृत गर्दै परराष्ट्रमन्त्रीसमेत रहेका प्रदीप ज्ञवालीले भने, ‘हप्तामा हुने कामलाई दिन र दिनमा हुने कामलाई घण्टामा झारेर तपाईंहरू काम गर्नुहोस् ।’

ओलीले महामारीसँग लड्न थप कानूनी संरचना आवश्यक रहेकाले त्यसका लागि कानून मन्त्रालयलाई आवश्यक तयारी गर्न निर्देशनसमेत दिएका छन् ।

‘थप कानूनी संरचना आवश्यक रहेकाले कानून मन्त्रालय र सम्वद्ध निकायलाई भनिएको छ,’ ज्ञवालीले भने, ‘अत्यावश्यकीय सामग्रीहरू, अक्सिजन, सिलिन्डर र खोप आपूर्तिमा देखिएका कठिनाइलाई तत्काल समाधान गर्न प्रधानमन्त्रीले निर्देशन दिनुभएको छ ।’

आज बसेको सीसीएमसीको बैठकमा देशभर रहेका अक्सिजन प्लान्टलाई पूर्ण क्षमतामा चलाउने समेत निर्णय भएको हो ।

‘लिक्विड अक्सिजनका लागि भारतसँग पहल गर्ने निर्णय भएको छ,’ ज्ञवालीले भने, ‘आवश्यक ट्यांकर लगायत व्यवस्थापन गर्ने कुरा छँदैछ । सिलिन्डर अभाव समाधान हुँदैछ । निजी क्षेत्रले ल्याएका केही सिलिन्डरसमेत गर्दा अब अभाव हुँदैन ।’

मन्त्री ज्ञवालीले कोभिड संक्रमण पीकमा पुगेको हुनसक्ने अनुमानसमेत गरे । ‘यो एक हप्ताको चार्ट हेर्दा र अघिल्लो हप्तासँग तुलना गर्दा हामी पीकमा पुगेर झर्ने चरणमा छौं कि जस्तो देखिन्छ,’ उनले भने, ‘यो प्रश्नको जवाफका लागि विज्ञहरूको भनाइ लिनुपर्छ । मैले भनेको त्यति आधिकारिक नहुन सक्छ ।’

बैठकमा ओलीले ‘र्यापिड रेस्पोन्स टीम’ बनाउन निर्देशनसमेत दिएका थिए । ‘र्यापिड रेस्पोन्स टीम बनाउनुस र हरहालतमा जनताको जीवन रक्षा गर्नुस् भनेर प्रधानमन्त्रीले भन्नुभएको छ,’ ज्ञवालीले भने, ‘स्वास्थ्य संकटकालको विषयमा पनि छलफल भैरहेको छ । संकटकाल लगाएर यो भन्दा राम्रो रिजल्ट आउने हो भने बल्ल संकटकाल घोषणा गर्दा ठीक हुन्छ ।’

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट