विवाद समाधान गर्न एमालेमा १० सदस्यीय कार्यदल, बादल आउट !-Sutra News

विवाद समाधान गर्न एमालेमा १० सदस्यीय कार्यदल, बादल आउट !

आइतबार, २ जेष्ठ २०७८

आइतबार, २ जेष्ठ २०७८

सत्तारूढ दल नेकपा एमालेमा देखिएको विवाद समाधानका लागि १० सदस्यीय कार्यदल बनाउने सहमति भएको छ ।



आइतवार प्रधानमन्त्री कार्यालय सिंहदरबारमा केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भएको छलफलमा कार्यदल बनाएर विवाद समाधान गर्ने सहमति भएको हो ।

माधव नेपालको पक्षबाट भीम रावलले कार्यदलको नेतृत्व गर्नेछन् भने ओलीपक्षबाट संसदीय दलका उपनेतासमेत रहेका सुवासचन्द्र नेम्वाङले नेतृत्व गर्नेछन् ।

नेपालको पक्षबाट रावलसहित घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, रघुजी पन्त र गोकर्ण बिष्ट कार्यदलमा रहने सहमति भएको छ । त्यस्तै ओली पक्षबाट नेम्वाङसहित विष्णु पौडेल, प्रदीप ज्ञवाली, शंकर पोखरेल र विष्णु रिमाल रहनेछन् ।

कार्यदलले विवाद समाधानका लागि प्रतिवेदन प्रस्तुत गर्न तीन दिनको समय पाएको छ ।

पूर्व माओवादी पक्षबाट गृहमन्त्रीसमेत रहेका रामबहादुर थापा ‘बादल’लाई कार्यदलमा राख्ने चर्चा चलेपनि उनलाई अन्तिम समयमा आउट गरिएको छ ।

यसअघि भएको वार्तामा ओलीले बादललाई पनि राखेको भन्दै नेता नेपाल पक्षले आपत्ति जनाएको थियो । 

छलफलपछि सञ्चारकर्मीलाई छोटो प्रतिक्रिया दिंदै प्रधानमन्त्री ओलीले पार्टीको विवाद समाधानउन्मुख रहेको बताएका थिए ।

 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट