अफगानिस्तानमा तालिबानीको तीन दिने युद्धबिराम समाप्त, वार्ता प्रक्रिया सुरु-Sutra News

अफगानिस्तानमा तालिबानीको तीन दिने युद्धबिराम समाप्त, वार्ता प्रक्रिया सुरु

आइतबार, २ जेष्ठ २०७८

आइतबार, २ जेष्ठ २०७८

काबुल- अफगानिस्तानमा युद्धरत तालिबान समूहले ईद पर्वको अवसरमा गरेको तीन दिने युद्धविराम आइतबार समाप्त भएको छ ।



ईदका अवसरमा घोषणा गरिएको यस युद्धबिरामको अवधिमा पनि हिंसात्मक झडपहरु र बम हमला भएका थिए, तर अधिकांश हिंसात्मक घटनाको जिम्मेवारी अफगानिस्तानमा सक्रिय अर्को इस्लामिक संगठन इस्लामिक स्टेटले लिएको थियो ।

युद्धबिराम समाप्त भएसँगै सरकार र तालिबानबीच शान्तिवार्ता पुनः सुरु गर्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय समुदायले दुबै पक्षलाई आह्वान गरेका छन् । तालिबानका राजनीतिक मामिला सम्बन्धी प्रवक्ता सुहेल शाहीनले सरकार र तालिबानका प्रतिनिधिबीच कतारमा पुनः भेटवार्ता भएको बताए ।

दुबै पक्षले शान्तिका प्रति आआफ्ना प्रतिबद्धता व्यक्त गरेको र रोकिएको वार्ता चाँडै सुरु गर्न सहमति जनाएको उनले बताए । संयुक्तराज्य अमेरिकाले दुबै पक्षलाई शान्तिवार्ता जतिसक्दो चाँडो सुरु गर्न दबाब दिइरहेको छ ।

अमेरिकाले अफगानिस्तानमा तैनाथ करिब २५०० देखि ३००० सेना तथा नेटोले आफ्ना करिब सात हजार सेना आगामी सेप्टेम्बर ११ अघि नै फर्काउन थालेकाले पनि वार्ता प्रक्रिया जतिसक्दो चाँडो टुङ्ग्याउन अमेरिकाले दुबै पक्षलाई दबाब दिएको हो ।

पछिल्लो समय अफगानिस्तानमा इस्लामिक स्टेट समूह बढी सक्रिय देखिएको छ । देशका विभिन्न भागमा इस्लामिक स्टेटले बम हमला गरेर जनधनको ठूलो क्षति पु-याएको छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट