नेकपा एमालेका उपाध्यक्ष वामदेव गौतमले हठ, दम्भ र एकाधिकारवादी चिन्तनबाट मुक्त हुन आफ्ना पार्टीका नेताहरूलाई आग्रह गरेका छन् ।
मदन भण्डारी र जीवराज आश्रितको स्मृति दिवसका दिन सामाजिक सञ्जाल फेसबुकमा एक सन्देश लेख्दै गौतमले वाम एकतामाथि जोड दिएका हुन् ।
‘आज जेठ ३ गते महान नेता विचारक तथा संगठक क. मदन भण्डारी र क. जिवराज आश्रितको स्मृति दिवस हो,’ गौतमले भनेका छन्, ‘आज पनि म उहाँहरूले निर्माण गर्नुभएको समाजवादको बाटो पछ्याउँदै हिंडिरहेको छु । यसै सन्दर्भमा म आज फेरि उहाँहरुको स्मृति दिवसमा उहाँहरुकै बाटोमा लागेर समाजवाद निर्माण गर्ने संकल्प गर्छु ।’
गौतमले मदन र आश्रितको बाटोमा हिंड्नु भनेको विखण्डन र आपसी द्वैषबाट मुक्त हुनु, सहकार्यको दिशामा अग्रसर हुनु रहेको बताए ।
‘तर, आज उहाँहरूकै नाममा पार्टीभित्र विखण्डन र विसर्जनपन्थ हावी हुन खोज्दैछ,’ उनले लेखेका छन्, ‘म आजको दिनमा पार्टीका सबै तहका नेता, कार्यकर्ता कमरेडहरुमा नेकपा (एमाले) सहित वृहत् वाम एकतामार्फत उहाँहरूको मार्गदर्शनलाई सार्थक बनाउने प्रेरणा मिलोस् भनी कामना गर्दछु । यसनिम्ति आ-आफ्ना हठ, दम्भ र एकाधिकारयुक्त चिन्तनबाट जिम्मेवार कमरेडहरु मुक्त हुन आग्रह गर्दछु ।’