महेन्द्रनगर- कोरोना भाइरस नियन्त्रणका लागि सरकारले आह्वान गरेको लकडाउन उल्लघंन गर्ने व्यक्ति र सवारी साधनलाई कञ्चनपुर प्रहरीले धमाधम कारबाही गर्न थालेको छ ।
गत वैशाख १६ गतेदेखि सोमबार साँझसम्म कञ्चनपुरमा प्रहरीले लकडाउन उल्लघंन गर्ने पाँच हजार ५१३ पैदलयात्री र नौ हजार २८६ सवारी साधनलाई कारबाही गरेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायब उपरीक्षक अमरबहादुर थापाले बताए ।
‘लकडाउन उल्लघंन गर्नेदेखि सरकारले स्वास्थ्य सतर्कता अपनाउन तोकिएको मापदण्डविपरीत गर्ने दुग्ध उद्योगदेखि विवाहका जन्तीसम्मलाई कारबाही गरिएको छ’, प्रवक्ता थापाले भने, ‘लकडाउन पालना गर्न जिल्लाभर प्रहरी सक्रियरूपमा लागिपरेको छ ।’
उनले महेन्द्रनगरमा दुग्ध उद्योगमा मदिरा बिक्री गरिरहेको पाइएपछि सञ्चालकलाई नियन्त्रणमा लिनुका साथै स्वास्थ्य सुरक्षा सतर्कता नपनाएको भन्दै यहाँस्थित बिबीमार्टका दुई जनालाई कारबाही गरिएको बताए ।
‘मार्टका दुई जनालाई संक्रमण रोग ऐन, २०२० अन्तर्गत प्रमुख जिल्ला अधिकारीले रु ६०० का दरले जरिवाना गर्नुभएको छ’, थापाले भने, ‘लकडाउन पालना नगर्ने पैदलयात्रीलाई होल्डमा राख्ने अभियान नै चलेको छ ।’
उनले कोरोनाको दोस्रो लहर सुरु हुनु अघिदेखि नै यहाँ प्रहरीले मास्कलगायतका स्वास्थ्य सुरक्षामा ध्यान नदिने व्यक्तिलाई जरिवाना गर्दै आएको जानकारी दिए ।
कञ्चनपुर प्रहरी यहाँको गड्डाचौकी नाकाबाट गौरीफन्टा नाकाको डोकेबजारसम्म भारतबाट स्वदेश फर्किने नेपालीलाई गन्तव्यमा पठाउन र स्वास्थ्य परीक्षण गराउन आवश्यक व्यवस्थापनलगायतका काममा खटिँदै आएको छ ।