

सत्तारूढ दल नेपाल कम्युनिस्ट पार्टी एमालेको विवाद समाधान कार्यदलको बैठक मंगलवार अपराह्न ३ बजे बस्ने भएको छ ।
प्रधानमन्त्रीसमेत रहेका अध्यक्ष केपी शर्मा ओलीको प्रतिनिधित्व गर्दै कार्यदलको नेतृत्व गरेका सुवासचन्द्र नेम्वाङले बैठक ३ बजे बस्ने जानकारी दिएका छन् ।
विवाद समाधानका लागि प्रतिवेदन तयार पार्न ३ दिनको समयसीमा पाएको कार्यदलको पहिलो बैठक नै तेस्रो दिन बस्न लागेको हो ।
तर कार्यदलका १० सदस्यमध्ये लुम्बिनी प्रदेशका मुख्यमन्त्रीसमेत रहेका शंकर पोखरेल आजै दाङ गएका छन् भने भीम रावल अस्वस्थ छन् ।
आज बस्ने बैठकमा कार्यदलका सबै सदस्यहरू उपस्थित हुने/नहुने निश्चित छैन ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पार्टीलाई अदालतको आदेशबमोजिम नेकपा एकताअघिको स्थितिबाट सुचारु गर्नुपर्ने माग राख्दै आएका छन् भने ओली आफैले एकलौटी गरेर बनाएका संरचना नै कायम राख्नुपर्ने अडानमा देखिन्छन् ।
पार्टीलाई एकढिक्का राख्न जेठ २ कै वरिपरी रहेर सहमति खोज्न भन्दै ओली र नेपालको भेटवार्ताले १० सदस्यीय कार्यदल गठन गरेको थियो ।
कार्यदलमा ओलीका तर्फबाट नेम्वाङ, विष्णु पौडेल, शंकर पोखरेल, विष्णु रिमाललगायतका नेता छन् भने माधवकुमार नेपालका तर्फबाट भीम रावल, सुरेन्द्र पाण्डे, रघुजी पन्त लगायतका नेताहरू सहभागी छन् ।