उपनिर्वाचन: मौन अवधि सुरु-Sutra News

उपनिर्वाचन: मौन अवधि सुरु

मंगलबार, ४ जेष्ठ २०७८

मंगलबार, ४ जेष्ठ २०७८

काठमाडाैं- बिहीबार सम्पन्न हुने बागमती प्रदेशको रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनका सन्दर्भमा मौन अवधि सुरु भएको छ ।



निर्वाचन आयोगका अनुसार जेठ ३ गते राति १२ बजेदेखि निर्वाचनको मौन अवधि सुरु भएको हो । यस अवधिमा निर्वाचन प्रचार-प्रसार गर्न र मत माग्न नहुने आयोगले प्रस्ट पारेको छ ।

मौन अवधि सुरु हुनुभन्दा अगाडि मतदान केन्द्रको ३०० मिटर वरपर राखिएका आ-आफ्ना निर्वाचन चिन्ह तथा प्रचार प्रसारका सामग्री हटाउनु पर्ने, एसएमएस, फेसबुक, भाईवर जस्ता विद्युतीय माध्यमद्वारा प्रयोग गरिने सामाजिक सञ्जालमार्फत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने, उम्मेदवार वा राजनीतिक दलको प्रचार प्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण गर्न नहुने पनि आयोगले जनाएको छ ।

उपनिर्वाचन प्रयोजनका लागि तोकिएका मतदाताले आफू निर्वाचित भएको प्रमाणपत्र वा स्थानीय तह निर्वाचन, २०७४, प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचन, २०७४ र उपनिर्वाचन, २०७६ मा आयोगबाट जारी भएको मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचय पत्रका साथ मतदानमा भाग लिन पाउने आयोगले मंगलबार विज्ञप्तिमार्फत जनाएको छ ।

उल्लेखितमध्येका कुनै परिचयपत्रका आधारमा निर्वाचक मण्डलको अन्तिम मतदाता नामावली विवरणसँग भिडाई यकिन गरी मतदान गर्न पाउने व्यवस्था मिलाइएको आयोगको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट