काठमाडौं- गृहमन्त्री रामबहादुर थापा (बादल) ले राष्ट्रियसभाको उपनिर्वाचनमा आफूलाई सघाउन वरिष्ठ नेता माधव नेपालसँग प्रस्ताव गरेका छन् । नेपाल निवास कोटेश्वरमा भएको भेटमा बिहीबार हुने निर्वाचनका लागि बादलले सहयोगका लागि आग्रह गरेका हुन् ।
भेटवार्ता पार्टीको आन्तरिक विषय र उपनिर्वाचनको विषयमा केन्द्रीत थियो । नेपालले बादललाई निर्वाचनमा सघाउन प्रतिबद्धता जनाएको उनको सचिवालयलयको दाबी छ । ‘गृहमन्त्री बादललाई आफ्नो पूर्ण सहयोग रहने नेपालले बताएका छन्,’ बादलको सचिवालयका एक सदस्यले भने ।
राष्ट्रिय सभाको उपनिर्वाचनमा बागमती प्रदेशबाट एमालेका तर्फबाट बादल उम्मेद्वार छन् भने विपक्षी गठबन्धनका तर्फबाट डा.खिमलाल देवकोटा चुनावी मैदानमा छन् । नेपाल समूहले देवकोटलाई सघाउने बताएको थियो ।
हाल नेकपा एमाले भित्रको विवाद समाधान उन्मुख भएपछि भने नेपालले कसलाई सघाउने भन्नेबारेमा आफ्नो धारणा सार्वजनिक गरेका छैनन् । एमालेले ह्वीप जारी गरिसकेको छ भने नेपालले पार्टीमा सहमतिको स्थितिमा मात्रै कसलाई सहयोग गर्ने भन्नेबारेमा सोच्न सकिने बताउँदै आएको छ ।