विराटनगर- मोरङको रंगेली नगरपालिका-३ मा एक महिलाको घाँटी रेटेर विभत्स हत्या गरिएको छ ।
रङ्गेली नगरपालिका-३ की २४ वर्षीया अनिता यादवको धारिलो हतियार प्रयोगगरी घाँटी रेटेर हत्या गरिएको अवस्थामा बुधबार बिहान तिलुवा चोक नजिकैको नहरमा शव फेला परेको हो ।
हत्या आरोपमा प्रहरीले मृतकका श्रीमान बेचन यादवसहित चार जनालाई पक्राउ गरेको छ ।
मृतकका ससुरा, सासु र देवरलाई नियन्त्रणमा लिएर अनुसन्धानअगाडि बढाएको मोरङ प्रहरी प्रमुख सन्तोष खड्काले बताए ।
एसपी खड्काले भने, ‘परिवारको चार सदस्यमाथि हामीले अनुसन्धान थालेका छौं । कसले र के कारणले हत्या गर्याे भन्ने कुरा अनुसन्धानपछि मात्र भन्न सकिन्छ ।’
घरदेखि करिब ढेड किलोमिटर दक्षिणमा अनिताको शव फेला परेको हो ।
घटनाको खबरलगत्तै डिएसपी मञ्जिल मुकारुङको नेतृत्वमा जिल्ला प्रहरी कार्यालयबाट प्रहरी टोली घटनास्थल पुगेको छ ।