उपनिर्वाचनको नतिजा आजै आउने-Sutra News

उपनिर्वाचनको नतिजा आजै आउने

बिहिबार, ६ जेष्ठ २०७८

बिहिबार, ६ जेष्ठ २०७८

काठमाडौं- वाग्मती प्रदेशमा रिक्त राष्ट्रियसभा सदस्य उपनिर्वाचनको मतदान केही बेरमा हुँदैछ ।



बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म हुने निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, मर्यादित र विश्वसनीय ढङ्गबाट सम्पन्न गर्न निर्वाचन आयोग प्रतिबद्ध र क्रियाशील रहेको जानकारी दिइएको छ ।

शान्ति सुरक्षा, स्वास्थ्य सुरक्षा मापदण्ड र अरु व्यवस्थापनका हिसाबले निर्वाचनको सम्पूर्ण तयारी पूरा भएको आयोगका प्रवक्ता राजकुमार श्रेष्ठले जानकारी दिए ।

उपनिर्वाचनमा वाग्मती प्रदेशसभा सदस्य ११० र वाग्मती प्रदेशअन्तर्गतका गाउँपालिका अध्यक्ष र उपाध्यक्ष तथा नगरपालिकाका प्रमुख र उपप्रमुख २३८ गरी ३४८ मतदाता छन् ।

निर्वाचनमा प्रदेशसभा सदस्यको ४८ र पालिका प्रमुख र उपप्रमुखको मतभार १८ कायम गरिएको छ । मतदातामध्ये प्रदेशसभा सदस्य पशुपति चौलागाईंको भने केही दिनअघि निधन भएको छ ।

मतदाताको निर्वाचक मण्डलबाट पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीको उक्त निर्वाचनमा सहभागी हुन सबै मतदातालाई आयोगले अनुरोध गरेको छ । हेटौँडा उपमहानगरपालिका–४ स्थित भुटनदेवी उच्च माध्यमिक विद्यालयमा कायम गरिएको केन्द्रमा मतदान हुनेछ ।

केन्द्रमा प्रदेशसभा सदस्य, स्थानीय तहका जनप्रतिनिधि र कोभिड सङ्क्रमित मतदाताका लागि बेग्लाबेग्लै मतदानको व्यवस्था मिलाइएको छ । उपनिर्वाचनमा यसअघिका विभिन्न निर्वाचनमा जारी मतदाता परिचयपत्र, नागरिकता वा राष्ट्रिय परिचयपत्र देखाएर मतदान गर्न सकिने छ ।

निर्वाचनमा नेकपा एमालेका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र अन्य दलका तर्फबाट खीमलाल देवकोटा प्रतिस्पर्धामा छन् । त्यस्तै नेपाल मजदुर किसान पार्टीका तर्फबाट कृष्णबहादुर तामाङले उम्मेदवारी दिएका छन् ।

निर्वाचन सकिनासाथ मतगणना हुने र नतिजा पनि आजै आउने आयोग स्रोतले जनाएको छ ।

नेकपाबाट निर्वाचित गृहमन्त्री थापालाई दल त्यागसम्बन्धी कानूनका आधारमा नेकपा माओवादी केन्द्रले पदमुक्त गरेपछि रिक्त स्थानमा यो निर्वाचन हुन लागेको हो । वर्तमान संविधान कार्यान्वयमा आएपछि राष्ट्रियसभा सदस्यको पहिलो पटक उपनिर्वाचन हुन लागेको हो ।

नतिजा भर्चुअल माध्यमबाट

यसैबीच आज हुने राष्ट्रियसभा उपनिर्वाचनको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन मिलाइएको छ । प्रमुख निर्वाचन अधिकृत न्यायाधीश डिल्लीरत्न श्रेष्ठका अनुसार मतगणनाको नतिजा भर्चुअल माध्यमबाट सार्वजनिक गरिने गरी व्यवस्थापन गरिएको हो ।

मतदान स्थल भुटनदेवी माविमै मतगणना गरी सोको नतिजा भर्चुअल माध्यममार्फत सार्वजनिक गर्ने योजना बनाइएको छ । मतगणना साँझ ५ बजेदेखि सुरु गरिने छ । आजै बेलुकासम्ममा नतिजा आइसक्ने जनाइएको छ ।

मतदानका लागि कोभिड सङ्क्रमित मतदाताले भुटनदेवी माविको उत्तर गेटबाट मात्रै प्रवेश पाउनेछन् भने अन्यले पश्चिम गेटबाट प्रवेश पाउनेछन् । मतदाताहरूलाई सामान्य स्वास्थ्य जाँचपछि १० मिटरको दूरीमा होल्डिङ सेन्टरमा बसाइने प्रमुख निर्वाचन अधिकृत श्रेष्ठले बताए ।

प्रदेश निर्वाचन आयोगको कार्यालयका अनुसार कुल मतदातामध्ये यसअघि नै १३ जनालाई कोरोना संक्रमण पुष्टि भएको थियो ।

मतदानबाट कसैलाई पनि वञ्चित नगर्न प्रदेशसभा सदस्य तथा स्थानीय तहका प्रमुख/उपप्रमुखहरुलाई पिसिआर रिपोर्ट अनिवार्य नगरिएको निर्वाचन अधिकृत श्रेष्ठले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट