चितवन- ट्रकको ढालामा झुण्डिएर एकजनाको मृत्यु भएको छ । मृत्यु हुनेमा सिन्धुपाल्चोकका ४७ वर्षीय दानबहादुर भण्डारी रहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । भरतपुर महानगरपालिका–२९ सिमलतालमा रोकी राखेको ना६ख १९९४ नंको ट्रकको ढालामा पासो लगाएर झुण्डिएर भण्डारीको मृत्यु भएको हो ।
पोखरीमा डुबेर मृत्यु
माडीमा एक वृद्ध पुरुषको पोखरीमा डुबेर ज्यान गएको छ । इलाका प्रहरी कार्यालय माडीका अनुसार माडी नगरपालिका–२ शीतलपुर निवासी ६७ वर्षीय देवीप्रसाद पाण्डेको पोखरीमा डुबेर मृत्यु भएको हो । पाण्डे गए रातिसम्म परिवारकै सम्पर्कमा रहेको र एक्कासी आज बिहान ४ः०० बजेदेखि सम्पर्कमा नरहेको परिवारले जनाएको छ । उनको शव पानीभित्र डुबेको अवस्थामा भेटिएको हो । पाण्डेको मृत्यु के कारणबाट भएको हो भन्ने स्पष्ट हुन नसकेको प्रहरीले जनाएको छ । शव परीक्षणका लागि भरतपुर ल्याइएको छ ।
कोरोनाका कारण नौ जनाको मृत्यु
कोरोना भाइरसको सङ्क्रमणका कारण जिल्लामा नौ जनाको मृत्यु भएको छ । यहाँका भरतपुर अस्पताल, चिवतन मेडिकल कलेज, पुष्पाञ्जली अस्पताल, पुरानो मेडिकल कलेज र विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत उनीहरुको मृत्यु भएको हो । भरतपुर अस्पतालमा दुई, क्यान्सर अस्पतालमा तीन, पुरानो मेडिकल कलेजमा दुई, चितवन मेडिकल कलेजमा एक र पुष्पाञ्जली अस्पतालमा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा तीन चितवनका रहेका छन् भने अन्य बाहिरी जिल्लाका हुन् ।
सिद्धिविनायकको अक्सिजन क्षमता बढाइयो
कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पताल (पुरानो मेडिकल कलेज) को व्यवस्थापनमा सञ्चालित सिद्धिविनायक अक्सिजन ग्यास उद्योगको क्षमता वृद्धि गरिएको छ । गैँडाकोटमा रहेको उक्त उद्योगमा नयाँ मेसिन थप गरी क्षमता वृद्धि गरिएपछि अब दैनिक १६० सिलिण्डर अक्सिन थप उत्पादन हुने भएको हो ।
अस्पतालका आवासीय निर्देशक डा.मनोहर प्रधानका अनुसार बुधबारबाट नयाँ उपकरण सञ्चालनमा आएको छ । उत्पादन शुक्रबारबाट सुरु हुनेछ । यसअघि उक्त उद्योगबाट दैनिक ४०० सिलिण्डर अक्सिजन उत्पादन हुँदै आएको थियो । नयाँ मेसिन थप गरिएसँगै अब दैनिक ५६० सिलिण्डर उत्पादन हुने छ । सो अस्पतालले दैनिक ३०० सिलिण्डर खपत गर्दछ । बाँकी अन्य अस्पतालका लागि प्रयोग गर्न सकिने छ ।