

सर्वोच्च अदालतले संघीय संसद नरहेका ७ जना नेताको मन्त्री पदमा भएको नियुक्ति असंवैधानिक रहेको आदेश दिएपछि नेताहरू प्रधानमन्त्री केपी शर्मा ओलीको सरकारी निवास बालुवाटार पुगेका छन् ।
संघीय संसदको सदस्य नरहेकाहरू दोस्रो पटक मन्त्री बन्न नपाउने भन्दै रिट सर्वोच्चमा परेको रिटको सुनुवाई गर्दै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराले ७ जना मन्त्री बर्खास्त हुने निर्णय सुनाएका थिए ।
रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, दावा लामा, गौरीशंकर चौधरी र प्रभु शाह सर्वोच्चको आदेशपछि मन्त्री पदबाट बर्खास्त भएका हुन् ।
अदालतको आदेश लगत्तै प्रधानमन्त्री ओलीसँग छलफल गर्न उनीहरू बालुवाटार पुगेका छन् ।
‘हामी प्रधानमन्त्रीसँग छलफल गर्न आएका छौं,’ भट्टले सूत्रन्यूजसँग भने । उनले अदालतको आदेशको कार्यान्वयन हुने बताए । उनले भने, ‘अदालतको आदेशमा मेरो केही प्रतिक्रिया छैन ।’