राष्ट्रपति र प्रधानमन्त्रीले संविधान मिचेको भन्दै चौतर्फी विरोध-Sutra News

राष्ट्रपति र प्रधानमन्त्रीले संविधान मिचेको भन्दै चौतर्फी विरोध

शुक्रबार, ७ जेष्ठ २०७८

शुक्रबार, ७ जेष्ठ २०७८

काठमाडौं- राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि दलहरुलाई २१ घण्टाको समय दिएर संविधान मिचेको भन्दै चौतर्फी विरोध भएको छ ।



प्रधानमन्त्रीले राजीनामा दिएमा वा अविश्वासको मतबाट पदमुक्त भएमा नयाँ सरकार गठनको प्रक्रिया सुरु हुने संवैधानिक व्यवस्था रहे पनि प्रक्रिया नै मिचेर राष्ट्रपतिले नयाँ सरकार गठनको आह्वान गरेको भन्दै विभिन्न राजनीतिक दल, संविधान र कानुनविद्, बुद्धिजीवी लगायतले विरोध गरेका हुन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र माओवादी केन्द्रले प्रधानमन्त्री र राष्ट्रपतिको कदम संविधानको विपरीत भएको  बताइसकेका छन् । 

नेपाली कांग्रेसका नेता गगन थापाले विश्वासको मत लिन मन नलागे प्रधानमन्त्रीले राजीनामा गर्ने अनि राष्ट्रपतिले प्रक्रिया सुरु गर्नुपर्नेमा के राष्ट्रपति र प्रमले थाहा नपाएर यो गरेको हो ? जानेरै गरेको हो ? भन्दै प्रश्न गरेका छन् । उनले भने, ‘राष्ट्रपतिले दिएको समय अगावै नयाँ सरकार बनाएर ओलीलाई बिदा गरौँ, महाअभियोग लगाएर राष्ट्रपतिलाई बिदा गरौँ ।’

यस्तै संविधानविद् भिमार्जुन आचार्यले पनि नियतले नै प्रधानमन्त्रीले संसद विघटन गर्न खोजेको बताका छन् ।

ट्वीटमार्फत आचार्यले भनेका छन्, ‘विश्वासको मत लिने प्रक्रिया प्रारम्भ हुनुपूर्व नयाँ सरकार गठनको आह्वान गर्न सक्ने संवैधानिक व्यवस्था छैन । राजीनामा वा विश्वासको मतबाट प्रधानमन्त्री पदमुक्त नभएसम्म अर्को सरकार गठनको सिफारिस हुन सक्दैन । नियत नै धारा ७६ (३) को प्रधानमन्त्रीले संसद् विघटन गर्न खोजेको जस्तो देखियो ।’

यस्तै लेखक तथा विश्लेषक विष्णु सापकोटाले लेखेका छन्, ‘मेरो बिडम्बना ओली र राष्ट्रपतिका यस्ता खाले हरेक कदममा म सुरुदेखि कहिल्यै पनि छक्क पर्न सकिन । उनीहरुले यस्तो गर्दैनथे भने बरु म अलि अचम्म मान्ने थिएँ होला ’

पूर्वप्रधानमन्त्री डा.बाबुराम भट्टराईले पनि राष्ट्रपति र प्रधानमन्त्रीको षडयन्त्रले संविधानमाथि आक्रमणको शृंखला नरोकिने बताएका छन् । 

अब सबैले दलीय निजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ धारा ७६ (५) बाटै निकास दिनुपर्ने डा.भट्टराईको राय छ । 

उनले ट्वीटरमा लेखेका छन्, ‘खुराफात शीरोमणि द्वयको षडयन्त्र र संविधानमाथिको आक्रमणको शृंखला नरोकिने भयो।कोरोना महाब्याधीको यत्रो संकटको वेला देशलाई अनिश्चित र हुनसेन स्टाइल चुनावकोअंध्यारो सुरूंगमा धकेल्नेहरूलाई दण्डित/परास्त गरौं।सबैले दलीय /निजी स्वार्थ त्यागेर जोजेमा सहमति हुन्छ धारा७६(५)बाटै निकास दिऊॅ!’ 

नयाँ सरकार गठनको प्रक्रिया सुरु गर्न आह्वान गर्नु संसद विघटन गरेर संविधान फाल्ने षडयन्त्र भएको नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले टिप्पणी गरेका छन् ।

राष्ट्रपतिको उक्त कदमको विरोध गर्दै वरिष्ठ नेता पौडेलले  यस्तो अवस्थामा संविधानको रक्षाका निम्ति सबै राजनीतिक दलहरूलाई फेसबुकमार्फत अपील गरेका छन् । 

कांग्रेसका नेता डा.शेखर कोइरालाले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री केपी शर्मा ओली संविधान समाप्त गर्नतिर लागेको आरोप लगाएका छन् ।

‘संविधानको धारा ७६ (३) अनुसार नियुक्त प्रधानमन्त्री केपी ओलिले विश्वासको मत नलिई वा राजिनामा नगरी धारा ७६ (५) लागु गर्नु र सो अनुरुप राष्ट्रपति अगाडि बढ्नु संविधानको धज्जी उडाउनु मात्र नभई प्रधानमन्त्री र राष्ट्रपतिको संविधान समाप्त गर्ने र मुलुकलाई द्वन्द्वमा लैजाने षडयन्त्र हो,’ कोइरालाले फेसबुकमा लेखेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट