काठमाडौं- नेपाल तरुण दलले राष्ट्रपति विद्यादेवी भण्डारीलाई महाभियोगबाट हटाएर मुलुकलाई संकटबाट मुक्त गर्न माग गरेको छ । अध्यक्ष जितजंग बस्नेतले विज्ञप्ति जारी गर्दै संविधानमाथि पटक-पटक ‘कू’ गर्ने राष्ट्रपति भण्डारीलाई महाभियोग प्रस्तावबाट हटाउन माग गरेका हुन् ।
‘सबै नागरिकको अभिभावक हुनुपर्नेमा प्रधानमन्त्रीको कारिन्दा र संविधानको भक्षक जस्तो देखिन आएको हुँदा राष्ट्रपतिलाई महाअभियोग प्रस्तावबाट पदबाट हटाई मुलुकलाई संकटबाट मुक्त गर्नका लागि नेपाल तरुण दल केन्द्रीय समिति जोडदार माग गर्दछ’, विज्ञप्तिमा भनिएको छ ।
‘संविधानको धारा ७६ को ३ अनुसार नियुक्त प्रधानमन्त्रीले विश्वासको मत पनि नलिएको र राजीनामा समेत नदिएको अवस्थामा नयाँ सरकार गठनका लागि समय तोक्नु गलत छ’, विज्ञप्तिमा भनिएको छ, ‘संविधानविरुद्ध राष्ट्रपतिद्वारा फेरि घात भएको र यो संविधान विरुद्धको अपराध हो ।’
देश र जनता कोरोना भाइरसको महामारीसँग लडिरहेका बेला राष्ट्रपतिबाट भएका यस्ता प्रकारका अव्यवहारिक, अमानवीय र संविधानको मर्म विपरीतका गतिविधिहरु जालसाजीपूर्ण गतिविधि रहेको तरुण दलको ठहर छ ।
‘राष्ट्रपति र प्रधानमन्त्रीबाट भएका यस्ता प्रकारका घर व्यवहार संचालन जस्ता देखिने गतिविधिहरु खेदजनक छन्’, बस्नेतद्वारा हस्ताक्षरित विज्ञप्तिमा लेखिएकाे छ ।