काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले नयाँ सरकार गठनको लागि बाटो खोलेको भन्दै छलेर सरकार कब्जा गर्न नखोजेको दाबी गरेका छन् ।
शुक्रवार बालुवाटारमा पत्रकार सम्मेलन गर्दै उनले विश्वासको मत लिन नसकिने निश्चित भएपछि नयाँ सरकार गठनका लागि मार्ग प्रशस्त गर्नुपर्ने अवस्था आएकाले आफूले बाटो खोलिदिएको दाबी गरेका हुन् ।
उनले नयाँ सरकार गठनको बाटो खोल्नुको साटो संसद छलेर सरकार कब्जा गर्न खोजेको नभएको स्पष्ट पारेका छन् ।
संविधानको धारा ७६ को उपधारा ५ अनुसार नयाँ सरकार गठन होस् भनेर राष्ट्रपति समक्ष मार्ग प्रशस्त गर्नुको कारण जेठ १५ मा बजेट र त्यो भन्दा अगाडि नीति तथा कार्यक्रम ल्याउनुपर्ने भएकाले नै विश्वासको मततिर नलागेर नयाँ सरकार गठनतिर गएको उनले बताए ।
उनले ‘जेठ १४ गते सरकार बन्यो भने १५ बजेट कसरी ल्याउँला ? भनि प्रश्न गरे । ‘हामीसँग समय छैन आज ७ गते भई सक्यो ? नीति तथा कार्यक्रम कसरी पास गर्ला ? समय लिएर विश्वासको मत लिएर काम गर्दा पनि किन यस्तो डाहा’, उनले प्रश्न गरे ।