

राष्ट्रपति विद्यादेवी भण्डारीले बर्खास्तीमा परेका ७ मन्त्रीहरूको कार्यभार प्रधानमन्त्री केपी शर्मा ओलीलाई दिएकी छन् ।
शुक्रवार अपराह्न एक विज्ञप्ति प्रकाशित गर्दै राष्ट्रपति कार्यालयले सर्वोच्च अदालतले मन्त्री पदबाट बर्खास्त गरेका ७ मन्त्रीहरूको कार्यभार प्रधानमन्त्री ओलीले सम्हाल्ने गरी तोकेको जानकारी दिएको छ ।
‘सम्माननीय राष्ट्रपति श्रीमती विद्यादेवी भण्डारीज्यूले मौजुदा मन्त्रिपरिषद्का तपसिल बमोजिमका मन्त्रीहरूलाई सर्वोच्च अदालतको मिति २०७८/२/६ को अन्तरिम आदेश बमोजिम रिट निवेदनको अन्तिम टुङ्गो नलागेसम्म निजहरूलाई मन्त्रीको हैसियतमा कुनै पनि कामकारबाही नगर्नु, गर्न नदिनु भनी अन्तरिम आदेश जारी भएको हुँदा निजहरूले सम्हाली आउनु भएको मन्त्रालयहरूको कार्यभार अर्को व्यवस्था नभएसम्मका लागि सम्माननीय प्रधानमन्त्री स्वयंले सम्हाल्ने गरी तोक्न सम्माननीय प्रधानमन्त्री श्री केपी शर्मा ओलीज्यूको मिति २०७८/२/७ को सिफारिस बमोजिम सम्माननीय प्रधानमन्त्रीले सम्हाल्ने गरी तोक्नु भएको छ,’ राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा भनिएको छ ।
संघीय संसद सदस्य नरहेका व्यक्तिहरू गैरसंवैधानिक रूपमा दोस्रो पटक मन्त्री बनेको भन्दै सर्वोच्च अदालतले रामबहादुर थापा, लेखराज भट्ट, टोपबहादुर रायमाझी, मणि थापा, दावा लामा, गौरीशंकर चौधरी र प्रभु शाहको मन्त्री पद खारेज गरिदिएको थियो ।