फेरि संसद्को चीरहरण भयो: नेपाल-Sutra News

फेरि संसद्को चीरहरण भयो: नेपाल

शनिबार, ८ जेष्ठ २०७८

शनिबार, ८ जेष्ठ २०७८

काठमाडौं- नेकपा एमालेका वरिष्ठ नेता माधव नेपालले पुन: प्रतिगमन दोहोरिएको बताएका छन् । शनिबार बिहान ट्वीट गर्दै नेता नेपालले ‘षड्यन्त्रकारीहरूको उक्साहट र चाहनामा फेरि पनि संसद्को चीरहरण भएको’ बताएका हुन् ।



उनले संविधानको मर्ममाथि प्रहार गर्दै सर्वसत्तावाद लाद्ने उद्देश्यले कथित चुनावको उदघोष गर्दै जालझेल गरिएको बताएका छन् । उनले लेखेका छन्, ‘यो व्यवस्था नै कू गर्ने अग्रसरता हो । शीतल निवासले संविधानको मर्मलाई कुठाराघात गरेको छ । यो प्रतिगमन भाग २ हो । केपी ओलीको यो कदमको भर्त्सना गर्दछु । यसको प्रतिवाद डटेर गर्न आह्वान गर्दछु !’

सरकार निर्माणका सबै संवैधानिक ढोकाहरू बन्द भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभा विघटन र चुनावको मिति राष्ट्रपतिसमक्ष सिफारिस गरेका थिए । राष्ट्रपति भण्डारीले मध्यराति प्रधानमन्त्री पदका लागि ओली र शेरबहादुर देउवाले गरेको दाबी नपुग्ने निर्णय गरेलगत्तै सरकार निर्माणका लागि संविधानअन्तर्गतका सबै ढोकाहरू बन्द भएका थिए ।

त्यसपछि राति १२ बजे प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद् बैठक बोलाएर १२ बजेर ४५ मिनेटमा संविधानको धारा ७६ (७) बमोजिम प्रतिनिधिसभा विघटनको सिफारिस गर्दै दुई चरणमा चुनावको मिति तय गरेका हुन् । 

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

ताजा अपडेट